सुदर्शनको फिल्म ‘शुभ विवाह’मा प्रदीप र सनिशाको अनस्क्रिन जोडी

सुदर्शनको फिल्म ‘शुभ विवाह’मा प्रदीप र सनिशाको अनस्क्रिन जोडी

काठमाडौं : प्रदिप खड्का र  सुनिशा भट्टराई फिल्म ‘शुभ विवाह’मा जोडीका रूपमा देखिने भएका छन्। निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको उक्त फिल्मको बिहीबार ललितपुरस्थित रामायल पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो।

फिल्मको घोषणा कार्यक्रमलाई विवाह समारोहको शैलीमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा अभिनेता खड्का र अभिनेत्री भट्टराईलाई दुलहा-दुलहीको पहिरनमा प्रस्तुत गराएर फिल्मको औपचारिक घोषणा गरियो। कार्यक्रममा अधिकांश पत्रकारलाई जन्तीका रूपमा सहभागी गराइएको थियो। उनीहरुले बेहुला बेहुली झैँ सिँगारिएका सनिशा र प्रदिपलाई जोडी मिलेको भन्दै हाँसो र ठट्टा गरेका थिए।

निर्देशक थापाले यसअघि ब्लकबस्टर फिल्म ‘प्रेमगीत’मार्फत प्रदिप खड्कालाई लभस्टोरी  हिरोका रुपमा स्थापित गराएका थिए। थापाले करिब एक दशकपछि थापाले फेरि प्रदिपलाई प्रेमकथामै आधारित फिल्ममा प्रस्तुत गर्न लागेका हुन्।

‘शुभ विवाह’मा सुनिशा भट्टराई उनको जोडीका रूपमा रहनेछिन्। उनले यसअघि ‘१२गाउँ’,‘नरसिंहा : अवतार’ लगायतमा अभिनय गरिसकेकी छन्। ‘शुभ विवाह’मा भने उनलाई मुख्य भूमिकामा प्रस्तुत गर्न लागिएको जनाइएको छ।

‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट अत्यधिक लोकप्रियता हासिल गरेका प्रदीपका पछिल्ला केही फिल्महरूले बक्स अफिसमा अपेक्षा अनुसारको व्यावसायिक सफलता पाउन सकेका छैनन्।  उनका पछिल्ला फिल्मले अपेक्षाकृत व्यावसायिक सफलता हासिल गर्न नसकेको अवस्थामा ‘शुभ विवाह’लाई उनको पुरानो लभस्टोरी क्रेज फर्काउने फिल्मका रूपमा हेरिएको छ।

यद्यपि, दुई वर्षअघि रिलिज भएको ‘प्रकाश’ मा उनको अभिनयको चौतर्फी तारिफ भएको थियो भने ‘पुजार सार्की’ ले पनि उनको स्टारडम जोगाउन सहयोग गरेको थियो।

यस्तै, हालै प्रदर्शनमा आएको ‘एक्लो’मा प्रदीपको भूमिका निकै छोटो रहेको थियो। उनी मुख्यभन्दा पनि केही दृश्यमा  मात्र सीमित देखिएका थिए। उनको यसअघिको फिल्म ‘एक्टर टेक वान’ पनि व्यावसायिक रूपमा असफल बन्न पुगेको थियो। फिल्मले उनकै पारिश्रमिक पनि उठाउन नसकेको चर्चा फिल्मी वृत्तमा चलेको थियो।  

उनको पछिल्लो फिल्म ‘ऐरी’को छायांकन सकिएको लामो समय भइसके पनि यसको विषयमा निर्माण पक्षले थप जानकारी सार्वजनिक गरेको छैन।

‘प्रेमगीत’ श्रृंखलाबाट स्टारका रूपमा चर्चा पाएका प्रदिपले दोस्रो फिल्मबाट नै ५० लाख पारिश्रमिक लिने गरेको बाहिरिएपछि उनी ओरालो लागेका थिए।

यस्तो अवस्थामा, सुदर्शन थापासँगको यो सहकार्यलाई प्रदीपको ‘लभस्टोरी क्रेज’ पुनः फर्काउने बलियो माध्यमका रूपमा हेरिएको छ। प्रदीप र सुनिशाको मुख्य भूमिका रहेको फिल्म ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने तय भएको छ।

पछिल्ला केही फिल्मले व्यावसायिक रूपमा सफलता पाउन नसकिरहेको बेला सुदर्शनको निर्देशकिय फिल्म ‘शुभ विवाह’ले प्रदीपको पुरानो क्रेज फर्काउला त?

साउन २८, २०८३ बिहीबार १९:०५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।