दीपक मनाङे कांग्रेस इतर समूह प्रवेश गर्न लागेका हुन्?
काठमाडौं : राप्रपा, कांग्रेस, मधेसवादी, पून राप्रपाहुँदै स्वतन्त्र उम्मेदवारको रूपमा दुई पटक प्रदेश सांसद र पटक पटक प्रदेश मन्त्री बनेका दीपक मनाङे कारागारबाट निस्किएपछि बिहीबार पहिलो पटक राजनीतिक जमघटमा देखिए। प्रदेश सांसद रहेकै बेलामा पुरानो मुद्दामा सर्वोच्चबाट कैद थप भएपछि कारागार पुगेपछि उनको सांसद पद खारेज भएको थियो।
कैद सजाय बाँकी नै रहे पनि जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ मा कारागारबाट नभागी इमान्दार कैदी बनेपछि उनको १ वर्ष ४ महिनाको बाँकी कैद सजाय मिनाहा भएर फागुन २७ मा कारागार मुक्त भएपछि कुनै राजनीतिक कार्यक्रममा देखिएका थिएनन्। उनी बिहीबार पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको स्वागतका लागि जम्मा भएका कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँगै विमानस्थल क्षेत्रमा देखिए।
विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति चयन भएर फागुन २१ को निर्वाचनमा टिकट समेत नदिएपछि देउवा उपचारका लागि भन्दै २०८२ चैत ७ मा सिंगापुर गएका थिए। श्रीमती आरजुसहित गएका उनी त्यसपछि हंगकंग गएर बसे। उनी बिहीबार एक्लै स्वदेश फर्किएका थिए।
देउवा स्वदेश फर्कँदा भव्य स्वागत गर्न कांग्रेसको इतर समूह विमानस्थल वरपर भेला भएका थिए। उनीहरूले देउवालाई सनरुफ गाडीमा राखेर हात हल्लाउँदै लगेका थिए। उनी सिधै चुनदेवीमा रहेको संस्थापन इतर समूहको कार्यालय गएर सम्बोधन गर्दै पार्टी एक हुन आव्हान गरेका थिए। मनाङे देउवालाई स्वागत गर्न विमानस्थल क्षेत्रमा पुगेका हुन्।
साउन २८, २०८३ बिहीबार १६:२३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।