मञ्चमै अभिनेत्री सुरक्षा पन्तलाई उडाउँदा ट्रोल भए राजेश हमाल
काठमाडौं: कमेडी सम्बन्धी नयाँ कार्यक्रमबारे जानकारी दिन आयोजित एक कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तको अभिनयप्रति राजेश हमालले गरेको व्यङ्ग्यको क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ‘सुपर कमेडी लिग’ बारे जानकारी दिन आयोजित कार्यक्रममा मञ्चमा रहेकाहरूको परिचय दिनेक्रममा हमालले पन्तको अभिनयबारे व्यङ्ग्य गरेका थिए।
उनी पन्तको परिचयदिँदै "उहाँ हुनुहुन्छ सुरक्षा पन्त अभिनय गरेर हँसाउन नसके पनि उहाँलाई हेरेर अलिअलि हास उठ्छ कि जस्तो लाग्छ मलाई" भन्दै हाँस्छन्।
उनी यो कार्यक्रममा अध्यक्षको भूमिकामा छन्। अर्थात् मञ्चको बिच भागमा बसेर कार्यक्रमको प्रस्तुति हेरेर हाँसो लागे पनि हाँस्ने, हाँसो नलागे पनि हाँस्ने। सायद आफूलाई कमेडीमा पनि फिट देखाउन हुन सक्छ उनले मञ्चमा अभिनेत्री पन्तलाई रोस्ट गरे। तर त्यसैले उनलाई अहिले विवादमा तानिरहेको छ।
कार्यक्रममा उनले अभिनयमा कमेडी गरेर कसैलाई हँसाउनु भनेको निकै गाह्रो काम भएको भन्दै कमेडीमा संलग्न कलाकारहरूप्रति उच्च सम्मान रहेको बताउँदै कमेडी सम्बन्धी रियालिटी शोमा सहभागी हुन पाउनु खुसीको कुरा भएको बताए। तर भाइरल हुने बेलामा उनले अभिनेत्री पन्तबारे गरेको रोस्टको क्लिप घुम्यो।
नेपाली कला क्षेत्रमा अभिनेता हमाल र अभिनेत्री पन्तको समान पहिचान छ-दुबै बौद्धिक अभिनेता अनि अभिनेत्रीको रूपमा परिचित छन्। तर अभिनयको हिसाबमा भने दुवैको सफल फिल्मको भन्दा असफल फिल्मको संख्या तेब्बर बराबर छ। अब यी दुवै कमेडीको एकै मञ्चमा देखिँदै छन्। तर कार्यक्रम अगाडि नै हमाल भने विवादमा तानिए। अब कार्यक्रम आए पनि के-के हुने हो कुन्नि!
साउन २६, २०८३ मंगलबार १६:११:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।