‘१२ गाउँ’को क्रेज, ‘बलिदान’को धक्का : समीरको तेस्रो फिल्म कस्तो होला ?
काठमाडौं : बिराज भट्टको निर्देशन र उनका छोरा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ १९ करोड ९२ लाखको व्यापार गर्दै बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्महरूको सूचिमा समावेश भयो।
कथा र पटकथामा केही कमजोर पक्ष रहे पनि डेब्यु अभिनेता समीरको शारीरिक बनावट र संवाद प्रवाहले दर्शकको ध्यान खिच्न सफल रह्यो। यद्यपि, समीरका लागि यो यात्रा सधैँ सहज भने रहेन।
उनले अभिनय गरेको दोस्रो फिल्म ‘बलिदान’ भने व्यावसायिक रूपमा असफल हुँदा निर्माताले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो। पहिलो फिल्ममा बिराजको विरासत र बुवा छोराको जोडिलाई हेर्न दर्शक झुम्मिए पनि अबका दिनमा समीरका सामु ‘बलिदान’को जस्तो असफलता नदोहोर्याउने चुनौती छ।
यतिबेला पहिलो फिल्म ‘१२ गाउँ’हिट भएपछि बिराज त्यसैको सिक्वेल निर्माण गरिरहेका छन्। सोही फिल्म ‘१२ गाउँ २’को डबिङमा व्यस्त छन् समीर। आइतबार ग्लोबल रिल मोसन पिक्चर्समा उनले आफ्नो भागको डबिङ गरेर स्टुडियोबाट बाहिरिएको तस्बिर सार्वजनिक गरिएको छ।
समीरका अलावा फिल्ममा निर्देशक बिराजले अनुप विक्रम शाही, कालु रानालगायतलाई पनि डबिङ गराइरहेका छन्। अघिल्लो फिल्मका अभिनेत्रीहरू भने यसमा दोहोरिएका छैनन्। अभिनेता मात्रै दोहोरिएका छन्।
अब को-को दोहोरिए भन्ने कुरा डबिङ कार्य सम्पन्न भएपछि फिल्मको गीत, ट्रेलर र प्रचार-प्रसारका सामग्री बाहिर आएपछि मात्रै थाहा होला। निर्माण पक्षले गुपचुपमा काम गरिरहेका छन्।
फिल्ममा निर्देशक बिराज भट्टका साथमा समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्व लगायत कलाकारहरूको अभिनय छ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा छायांकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक र सियोन श्रेष्ठको नृत्य निर्देशन रहने छ। आगामी असोज ३० गते दसैंको फूलपातीबाट रिलिज हुने निर्माण पक्षको भनाई छ।
यो फिल्मसँगै अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जुन’, ‘आ बाट आमा २’, ‘छ माया छपक्कै२’ पनि प्रदर्शनमा आउँदै छ। यस भीडमा दर्शकले कसलाई साथ दिन्छन् भन्ने कुरा चाहिँ दसैँपछिको बक्स अफिस रिपोर्टले नै स्पष्ट पार्नेछ।
साउन २५, २०८३ सोमबार २३:०८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।