गीत विवाददेखि रि-सुटसम्म: 'मास्टर्नी' जोगाउन प्रियंकाको कसरत
काठमाडौं : फिल्म बनाउनु र चलाउनु आकाश–पातालको फरक हो भनेर फिल्मकर्मीहरू नै बताउने गर्छन्। जुन कुरा यतिबेला अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीले राम्रैसँग महसुस गरिरहेकी छन्। प्रियंकाले ‘मास्टर्नी’को थिम पोस्टर सार्वजनिक गर्दै फिल्मलाई ‘ब्लकबस्टर’ हुने दाबी गरेकी थिइन्। तर, प्रदर्शनको मिति नजिकिँदै जाँदा भने फिल्मलाई लिएर उनको तनाव बढ्दै गएको देखिन्छ।
पहिलो झट्का दुर्गेश थापाले ‘उपहार’ भन्दै तयार पारेको प्रमोसनल गीतले दियो। प्रियंका र दुर्गेशको नृत्य रहेको उक्त गीतले सामाजिक सञ्जालमा अपेक्षित प्रशंसा पाउनुको सट्टा चर्को आलोचना खेप्यो। आलोचना यति बढ्यो कि गीत सामाजिक सञ्जालबाट हटाउनुपर्यो भने केही दर्शकले ‘मास्टर्नी’ बहिष्कार गर्ने चेतावनीसमेत दिए।
प्रमोसनल गीतबाट सुरु भएको विवाद सेलाउन नपाउँदै अर्को दबाब थपियो- कन्नड सुपरस्टार यशको फिल्म ‘टक्सिक’सँग सँगको भिडन्त! जसका कारण भदौ १२ को पूर्वघोषित मितिबाट पछि हट्दै प्रियंकाको टिमले एक हप्ता अगाडि अर्थात् भदौ ५ गतेलाई नयाँ रिलिज मिति तोक्यो। तर, हलमा आउन मुस्किलले दुई साता बाँकी रहँदा फिल्मको प्रचारप्रसार भने एकाएक ठप्प जस्तै बनेको छ।
एक महिनाअघि नै २१ दिनमै प्याकअप भनिएको ‘मास्टर्नी’को अन्तिम सम्पादनका क्रममा केही दृश्य अपुग भएको महसुस भएपछि प्रियंकाले रिलिजको मुखैमा फिल्मका केही दृश्य पुनः छायांकन गरेकी छन्। भारतीय निर्देशक शुभेन्दु घोषको निर्देशनमा बनेको यो फिल्मलाई निर्देशक सिमोस सुनुवारले लगातार ८ दिनसम्म फिल्मको ‘रि–सुट’ गरेका हुन्।
गत बिहीबार ठमेलस्थित छायाँ सेन्टरमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा प्रियंकाले पनि रि–सुट गरिएको विषय स्वीकार गरिन्। उनले अघिल्ला निर्देशक शुभेन्दु घोषसँगको सल्लाहमै फिल्मलाई थप स्तरीय बनाउन केही दृश्य पुनः खिचिएको बताइन्।
उनले भनिन्, "हामीले ७–८ दिन फिल्म पुनः खिचेका हौँ। फिल्म हेरेपछि केही परिवर्तन गर्नुपर्छ भन्ने हामीलाई महसुस भयो।"
फिल्मलाई उत्कृष्ट बनाउन आफूले सक्दो मेहनत गर्ने बताउँदै प्रियंकाले भनेकी थिइन्, “चाहे निद्रा हराम होस् वा अझै पाँच किलो दुब्लाऊँ, फिल्मलाई अझ राम्रो बनाउन सक्दो प्रयास गर्नेछु।”
तर, यहाँ एउटा प्रश्न भने उठ्छ- फिल्ममा चर्चित गीत, लोकप्रिय कलाकार वा सामाजिक सञ्जालको चर्चा मात्र हुँदैमा फिल्म चल्छ त?
केकी अधिकारी अभिनीत ‘बोक्सीको घर’लाई प्रकाश सपुतको गीतले चर्चामा ल्याएको उदाहरण छ। तर, हरेक फिल्ममा उस्तै सूत्र लागू हुन्छ भन्ने छैन। ‘पूर्णबहादुरको सारङ्गी’देखि ‘गौँथली’सम्मका फिल्मले पनि बलियो कथा र प्रस्तुतिका आधारमा दर्शकको माया पाएका छन्।
‘मास्टर्नी’का लागि अब निर्णायक कुरा दुर्गेश थापाको गीत र रि–सुटभन्दा पनि फिल्मको कथा र प्रस्तुति कति दमदार बनेको छ भन्ने नै हो। ‘मास्टर्नी’ले दर्शकलाई हलसम्म तानेर मन जित्न सक्छ या सक्दैन, त्यो भने भदौ ५ गतेपछिको बक्स अफिस नतिजाले नै पुष्टि गर्नेछ।
साउन २५, २०८३ सोमबार १८:५४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।