कलाकार परिवर्तनको चर्चापछि ‘जलाकी’मा को-को देखिए?

कलाकार परिवर्तनको चर्चापछि ‘जलाकी’मा को-को देखिए?

काठमाडौं : फिल्म ‘जलाकी’को छायांकनका दौरान मुख्य कलाकार हेरफेरको विषयले निकै चर्चा पायो। अभिनेता धिरज मगरले फिल्म छाडेपछि निर्देशकले सोनम तोप्देनलाई अनुबन्ध गरेको हल्ला चल्यो। फिल्म निर्माण नहुँदासम्म विशेष गरी दुई कलाकार हेरफेरको विषयले चर्चा पाइरह्यो।

अन्ततः सबै हल्लाहरू चिर्दै निर्माण टिमले फिल्म निर्माणको काम सम्पन्न गरी औपचारिक प्रचारप्रसार थालेको छ। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ शुक्रबार युट्युबबाट रिलिज गरियो।

उक्त गीतमा धिरज देखिँदैनन्, तर सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, राजु, भावना र दीपिकाको अभिनय छ। भिडियोले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। एसडी योगी र अन्जु पन्तले गाएको गीतमा पुराना गीतकार सुरेन्द्र रानाको शब्द रहेको छ। 

साथै गीतमा संगीत निर्देशन गायक एसडी योगीकै छ। गीतको संगीत निर्माता रिकेश गुरुङ रहेका छन् भने गीतको भिडियोमा कोरियोग्राफी सुरेन्द्र राईको छ। 

शैलेन्द्र डी. कार्कीले छायांकन गरेको फिल्ममा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बाल कलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन्।
 
यसै फिल्मबाट मिस सिक्किमकी साहारा हाङ्मा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्। ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले यो फिल्ममा लगानी गरेका छन्।

यसअघि निर्देशक थापा मगरको डेब्यु फिल्म ‘खुस्मा’मा समावेश गीत ‘रुकुम मैकोट’हिट भएको थियो। अब उनको दोस्रो फिल्मको गीतले कतिको चर्चा कमाउँला, दुईचार दिनमा नै थाहा होला। यो फिल्मको व्यावसायिक सफलता भने रिलिजपछि नै थाहा हुन्छ। अर्थात् यो फिल्मको प्रदर्शन आगामी मंसिर ४ गतेलाई राखिएको छ। 

साउन २२, २०८३ शुक्रबार १७:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।