‘म मदनकृष्ण’मा हरिवंशको भूमिकामा अरुण, एकैपटक दुई बायोपिकको सम्झौता

‘म मदनकृष्ण’मा हरिवंशको भूमिकामा अरुण, एकैपटक दुई बायोपिकको सम्झौता

काठमाडौं : लामो समयदेखि दर्शकले पर्खिरहेको मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा सबैभन्दा ठूलो कौतूहल थियो- ‘मदनकृष्णको भूमिका त महेश त्रिपाठीले गर्ने भए, तर हरिवंश आचार्यको भूमिकामा को आउला त?’

बलिउडदेखि कलिउडसम्म बायोपिकको ट्रेन्ड चलिरहँदा, मह जोडीको पर्दाको त्यो जादु कसले देखाउला भन्ने चासो चुलिएको थियो। अन्ततः निर्माण टिमले त्यो सस्पेन्स तोडेको छ। ‘गौँथली’मार्फत बक्सअफिसमा हलचल मच्चाइरहेका युवा स्टार अरुण क्षेत्रीले यो बहुप्रतीक्षित भूमिका हात पारेका छन्।

तर, बजारमा अहिले अरुणले पाएको ‘ज्याकपट’को चर्चा बढी छ। हो, अरुणले ‘म मदनकृष्ण’का लागि मात्र नभई, यही टिमले बनाउने हरिवंश आचार्यको छुट्टै बायोपिकका लागि पनि एकैपटक सम्झौता गरेका छन्!

निर्देशक मिलन चाम्सले यसको पुष्टि गर्दै भनेका छन्, ‘हामीलाई सशक्त अभिनय गर्न सक्ने कलाकार चाहिएको थियो। अरुणमा त्यो क्षमता छ, र उहाँलाई हरिवंश दाइको भूमिकामा पक्कै दर्शकले मन पराउनुहुनेछ।’

एकैपटक दुईवटा बायोपिकमा नेपाली कमेडी क्षेत्रका लेजेन्डको भूमिका पाउनु अरुणका लागि ठूलो 'ब्रेक' मात्र होइन, करिअरको गेमचेन्जर नै साबित हुने पक्का छ।

मिलन चाम्सको निर्देशन रहने यस फिल्ममा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र मदनकृष्णकी स्वर्गीय पत्नी यशोदाको भूमिकामा केकी अधिकारी देखिँदैछन्। फिल्ममा राजाराम पौडेल, किरण केसी जस्ता दिग्गज अनुहार पनि समेटिएका छन्।

मदनकृष्णको बाल्यकालदेखि अन्तरजातीय विवाह र मह जोडीको सहकार्यसम्मका कुरा समेटिने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले कीर्तिमानी मूल्यमा खरिद गरिसकेको छ।

राजकुमार श्रेष्ठको निर्माणमा बन्न लागेको ‘म मदनकृष्ण’को छायाङ्कन भदौको दोस्रो सातादेखि सुरु हुँदैछ।

साउन २१, २०८३ बिहीबार ०९:०४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।