फ्लप फिल्मको ह्याट्रिकपछि वर्षा भन्छिन् : ‘टिकट किनेको भए म पनि हिट हुन्थेँ’
काठमाडौं : कहिलेकाहीँ ठट्टाको माध्यमबाट भएपनि तितो यथार्थ बाहिर आउने गर्छ। अहिले नेपाली फिल्म क्षेत्रको एउटा त्यस्तो प्रवृत्तिमाथि चर्चा भएको छ, जसलाई धेरैले बुझेका त छन्, तर सार्वजनिक रूपमा कमैले स्वीकार गर्छन्: त्यो हो, निर्माता आफैँले टिकट किनेर फिल्मलाई 'हिट' देखाउने प्रयास।
यही विषयलाई अभिनेत्री वर्षा राउतले हालै एक प्रसङ्गमा रमाइलो शैलीमा तर स्पष्टसँग बाहिर ल्याएकी छन्। सुरुवाती फिल्महरूमा लगातार व्यावसायिक सफलता पाएकी वर्षाका पछिल्ला केही फिल्मले बक्स अफिसमा सोचेजस्तो नतिजा दिन नसकेपछि उनले गरेको पछिल्लो अन्तर्वार्तामा उठाएको टिकट किनेर फिल्मलाई हिट देखाउने प्रसंगले चर्चा पाएको छ।
लगातारका फिल्महरूले व्यावसायिक सफलता प्राप्त नगर्दा फ्लप फिल्मको हिरोइन भन्ने ट्याग भन्ने ट्याग लागिरहँदा वर्षाले त्यस प्रसंगमा जवाफ दिने क्रममा निर्माताले आफ्नै फिल्मको टिकट काट्ने अभ्यासमाथि ठट्टा गरिन्।
कमेडियन मेक्सम गौडेलले एक टेलिभिजनमा ‘हावामा हल्ला’ नामक कार्यक्रममा वर्षा राउतलाई ‘इन्टरटेन्टमेन्ट इन्ड्रष्ट्रीको यस्तो के कुरा छ, जुन कुरा कसैले पनि ओपनली डिस्कर्स गर्दै आइरहेको छैन।’ भनेर सोध्छन्। उनको प्रश्नमा लामो हाँसो हाँस्दै भन्छिन्, "फिल्म चलाउनलाई टिकट किन्ने।"
कमेडियनले वर्षाको हाँसो र उनको शब्दमा दम भेटेपछि किन त्यतिकै प्रश्नलाई रोक्थेँ र? उनले फेरि भन्छन्, "त्यो चाहिँ रियलमा छ, ओपनली डिस्कर्सन भएको छैन?" वर्षाले लामो जवाफ दिँदैनन्। उनले ‘हजुर’ मात्रै भन्छिन्।
रमाइलो कार्यक्रम भएकाले उनले थप प्रश्न गर्छन्, "तपाई पर्नुभएको छ, यस्तो कुरामा?" वर्षालाई प्रश्नले छोइ रहेर होला उनी मज्जाले हाँस्छिन्। हाँसोमै उनी जवाफ फर्काउँछिन्, "त्यस्तो परेको भए हिट भइहाल्थेँ नि।"
वर्षाले मजाक मजाकै जवाफमा भनेका कुरा नेपाली फिल्म क्षेत्रका निर्माता तथा निर्देशकलाई भने गम्भीर ढंगले सोच्न बाध्य बनाएको विषय हो। किनभने उनले अभिनय गरेका पछिल्ला तीन फिल्म ‘हर्ष’, ‘मालती मंगले’ र गत असार ५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आइ एम जित बहादुर’।
लगातार आफूले अभिनय गरेको फिल्मले व्यावसायिक रूपमा असर पारेपछि अभिनेत्रीले लगानीमा बलियो निर्माता भएको भए सायद हिट भइन्थ्यो होला भन्ने आशय प्रकट गरेकी हुन सक्छ। उनको संवादबाट प्रष्ट के बुझिन्छ भने फिल्म चलाउन निर्माताले फिल्म निर्माणमा मात्र लगानी गरेर हुँदैन, हलमा फिल्म चलाउन र टिकाउन निर्माता आफैले टिकट नकिनी सुखै छैन। जे होस् रमाइलो शैलीमा वर्षाले फिल्म क्षेत्रको वास्तविकताबारे भने चर्चा गरेकी छन्।
यद्यपि व्यावसायिक रूपमा सफल फिल्म ‘नाई नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षा राउतले ‘छक्का पञ्जा’ र ‘जात्रा’ जस्ता हिट फिल्महरूमा काम गरिसकेकी छन्। दर्शक र समीक्षक दुवैबाट उनले अभिनयको मामिलामा प्रशंसा पाइरहेकी हुन्छन्। उनले निरन्तर आफ्नो अभिनयमा सुधार ल्याउँदै गएकी छन्।
वर्षाले फिल्म क्षेत्रमा प्रवेश गर्दा निर्माताहरूले आफैँ टिकट खरिद गरेर फिल्मको ‘शो’ बढाउने चलन थिएन। तर, पछिल्लो समय निर्माता स्वयंले टिकट काटेर फिल्म टिकाउने प्रवृत्ति बढेपछि मौलिक र राम्रा कथामा आधारित फिल्महरू समेत ओझेलमा पर्न थालेका छन्।
उनको अभिनय रहेका पछिल्ला फिल्महरू ‘मालती मंगले’ र ‘आइएम जित बहादुर’मा उनको कामको चर्चा भए पनि व्यावसायिक नतिजा भने उत्साहजनक रहेन। फिल्मको सफलतामा अभिनयसँगै बजारको बदलिँदो प्रवृत्तिको पनि प्रभाव रहने पछिल्ला अभ्यासहरूले देखाउँछ।
साउन १९, २०८३ मंगलबार १९:३५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।