ग्यास सञ्चित नगर्न कास्की प्रशासनको आग्रह, कालोबजारी रोक्न अनुगमन तीव्र
पोखरा : पोखरा बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले आपूर्ति सहज बनाउन सक्रियता देखाएको छ।
बजारमा कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनी र स्थानीय बिक्रेताहरूलाई ग्यास नलुकाउन र बिक्रीवितरण सहज बनाउन सचेत गराइएको छ।
‘बजार अनुगमन भइरहेको छ, आजभोलिसम्ममा थप तीनवटा बुलेट पोखरा भित्रिँदैछन्,’ बरालले भने, ‘समस्या विस्तारै सहज हुँदैछ, उपभोक्ताहरू आश्वस्त हुनुभए हुन्छ।’
प्रशासनले ग्यास उद्योगी तथा बिक्रेताहरूलाई दैनिक प्राप्त र बिक्री भएको ग्यासको अभिलेखका साथै उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अद्यावधिक राख्न निर्देशन दिएको छ।
यस्तै, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीहरूलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ।
बिक्रेता वा उपभोक्ता कसैलाई पनि अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न चेतावनी दिँदै प्रशासनले बजारमा कुनै अनियमितता वा कालोबजारी देखिएमा तुरुन्त प्रशासन वा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ।
साउन १९, २०८३ मंगलबार १०:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।