तीन दशकको निर्माण अनुभवपछि ‘प्रतिज्ञा’ मार्फत निर्देशनमा डेब्यू गर्दै सुशील पोखरेल
काठमाडौं : नेपाली फिल्म क्षेत्रका पुराना तथा अनुभवी निर्माता सुशील पोखरेल अब भने निर्देशकको भूमिकामा देखिने भएका छन्।
तीन दशक देखि निरन्तर फिल्म निर्माणमा सक्रिय रही सफलता र असफलता दुवैको स्वाद चाखिसकेका पोखरेलले आफ्नै ब्यानर ‘हरि ओम सिनेमाज प्रा.लि.’ मार्फत नयाँ फिल्म ‘प्रतिज्ञा’ निर्देशन गर्न लागेका हुन्।
तीन दशक लामो निर्माण यात्रामा पोखरेलले उनले ‘परदेशी’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘जीवनदाता’, र ‘मैदान’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ लगायतका फिल्ममा लगानी गरेका छन्। जसमध्ये ‘जय शिव शंकर’, ‘जीवनदाता’, र ‘मैदान’ उनका व्यावसायिक रूपमा सफल फिल्म हुन्।
उनको पछिल्लो फिल्म भने ‘परालको आगो’ हो। सात वर्षको लामो अन्तरालपछि निर्माणमा कमब्याक गरेको ‘परालको आगो’ ले चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार करिब चार करोड २८ लाख ११ हजार बराबरको व्यापार गरेको थियो। व्यापारिक दृष्टिकोणले सोचेजस्तो आम्दानी नदिए तापनि यो फिल्म यस वर्ष प्रदर्शनमा आएका फिल्महरूमध्ये अग्रस्थानमै नै परेको छ।
निर्देशनमा हात हालेसँगै पोखरेलले फिल्म ‘प्रतिज्ञा’ को पहिलो पोस्टर समेत सार्वजनिक गरिसकेका छन्। सार्वजनिक पोस्टरमा भगवान् शिवको विशाल स्वरूप र त्रिशूल देखाइएको छ भने ट्यागलाइनमा ‘जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ,’राखिएको छ।
‘फ्यामिली थ्रिलर’ जनरामा बन्ने यस फिल्मको कथावस्तु निकै सशक्त र गहकिलो हुने अनुमान गरिएको छ। फिल्मका लागि कलाकार तथा प्राविधिक टोलीको टुंगो लाग्न बाँकी नै छ।
नेपाली फिल्म क्षेत्रमा नयाँ प्रतिभालाई अवसर दिँदै आएका पोखरेलले यसपटक भने निर्देशकको रूपमा आफ्नो अनुभव पस्कदैछन्। तीन दशक लामो फिल्म यात्राबाट खारिएका पोखरेलको निर्देशकीय डेब्युले कस्तो प्रभाव पार्नेछ भन्ने चासो दर्शक तथा चलचित्र वृत्तमा बढेको छ।
साउन १७, २०८३ आइतबार १६:४६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।