रेखा थापाको 'सुस्त' सुरुआत, टाइटल गीतले पाएन अपेक्षित डिजिटल साथ
काठमाडौं : नेपाली फिल्मी वृत्तमा एउटा भनाइ निकै प्रचलित छ- ‘हिट गीतले फिल्मको आधा हाइप बनाइदिन्छ।’ त्यसैले निर्माण टिमले प्रचारको सुरुवात गर्ने पहिलो गीतलाई विशेष महत्व दिने गर्छ। त्यो गीतले कि त दर्शकलाई नचाउनुपर्छ, कि त मन छोएर भावुक बनाउनुपर्छ। यदि दुवै गर्न सकेन भने, फिल्मको हाइप सुरुमै कमजोर बन्ने जोखिम रहन्छ।
त्यसमाथि रेखा थापाको फिल्म भनेपछि दर्शकको अपेक्षा झन् ठूलो हुन्छ। उनका फिल्ममा छमछमी नाच्ने, मुखमा झुन्डिने र रिलिजसँगै चर्चा बटुल्ने गीतहरू दर्शकले खोज्ने गरेका छन्। उनी आफैँले निर्देशन गरेका यसअघिका फिल्म 'हिम्मतवाली' वा 'मालिका'मा पनि निर्देशकीय पक्षभन्दा बढी चर्चा गीतहरूकै भएको थियो। तर, यसपटक भने रेखा निर्देशित नयाँ फिल्मको 'टाइटल ट्र्याक' ले दर्शकलाई खासै तान्न सकेको देखिँदैन।
फिल्मको पहिलो गीत ‘माया भनेको यस्तो होला’ न त नाच्न मिल्ने खालको छ, न त भावुक नै बनाउँछ। प्रशान्त सिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीतमा विज्ञानी पराजुलीले पनि साथ दिएकी छन्। सुस्त लयको यो गीत फिल्मको कथाको माग हुन सक्छ, तर तर प्रचारको पहिलो सामग्रीका रूपमा भने यसले अपेक्षित उत्साह जगाउन नसकेको चर्चा फिल्मी वृत्तमा सुरु भएको छ।
शुक्रबार सार्वजनिक भएको यस गीतको डिजिटल भ्युज औषत मात्रै छ। यो समाचार तयार पार्दासम्म गीतलाई २ लाख ५१ हजारभन्दा बढीले हेरेका छन् भने एक हजार एक सय जनाले मात्र 'लाइक' गरेका छन्— जुन भ्युजको तुलनामा निकै कम हो।
कमेन्ट बक्सको अवस्था पनि उत्साहजनक छैन। करिब एक सय पाँच वटा कमेन्टमध्ये केही दर्शकले त गीतमा देखिएका कलाकारलाई नै नचिनेको प्रतिक्रिया दिएका छन्। यद्यपि, गीतको भिज्युअल भने आकर्षक बनेको छ।
गीतको भिडियोमा मुख्य कलाकारहरू दिल श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ र रवि गिरी लगायतलाई फिचर गरिएको छ। फिल्मका हिरो दिल श्रेष्ठ आफैँ निर्माता पनि हुन्। प्रमोशनल सामाग्रीका रूपमा पहिलो पटक नै यति कमजोर र सुस्त गीत रिलिज गर्न हतार नगरिएको भए हुन्थ्यो भन्ने विश्लेषण भइरहेको छ।
यसअघि ‘छक्का पञ्जा ५’ को प्रचार गीत सार्वजनिक हुँदा पनि यस्तै अवस्था देखिएको थियो। दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्ममा सधैं रमाइलो र नाच्ने खालका गीतको अपेक्षा गर्ने दर्शकले ‘बिहे भाको छैन’ गीतबाट फरक अनुभव पाए। जसका कारणफिल्मले पाउनुपर्ने जति 'हाइप' पाउन नसकेको चर्चा चलेको थियो।
अब रेखा थापाको निर्देशनमा बनेको यो फिल्मको पहिलो गीतले आगामी दिनमा कस्तो गति लिन्छ भन्ने हेर्न बाँकी छ। गीत कमजोर हुनु निर्माण पक्षको छनोटको परिणाम हो वा फिल्मको कथाले नै त्यस्तो माग गरेको हो भन्ने कुरा त आगामी भदौ २६ गतेपछि मात्रै स्पष्ट हुनेछ।
साउन १७, २०८३ आइतबार १५:४८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।