‘म त ढले ढले’की गायिका शान्तारानीको दुखेसो : ‘गुल्मीका कुनै नेताले मलाई कल गरेनन्’
काठमाडौं : एक वर्षअघि सार्वजनिक भएको गीत ‘म त ढले ढले’ले निकै ठूलो चर्चा कमायो। युट्युबमा सार्वजनिक भएको यस गीतले १२ करोड ७२ लाखभन्दा बढी भ्युज पायो।
सामाजिक सञ्जालदेखि संसद्सम्म यस गीतको टुक्काहरू सुनाएर सरकारलाई व्यङ्ग्य्य गरियो। तर, यही गीतबाट देशैभरि चिनिएकी गायिका शान्तारानी परियारको मनमा भने आफ्नो जिल्लाका नेताहरूप्रति गुनासो रहेको छ।
गुल्मीमा जन्मिएर गायनमा सक्रिय शान्तारानीले झण्डै एक हजार गीत गाएको दाबी गर्छिन्। यद्यपि सर्वाधिक चलेका गीत ‘म त ढले ढले’ र ‘स्याउली बजारमा’बाट उनको चर्चा चुलियो। शान्तारानीको यस सफलतामा देशभरका श्रोता-दर्शकले साथ दिइरहँदा आफ्नै गृहजिल्ला गुल्मीका राजनीतिक नेतृत्वले आफूलाई बधाई दिएर हौसला नपाएको गुनासो उनी गर्छिन्।
गुल्मीका पुराना दलका सांसद तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीदेखि नयाँ दलका सांसद सागर ढकालसम्मले कलाकारप्रति कुनै चासो नराखेकोमा उनको चित्त दुखाइ छ। आफूले पनि नेता तथा सांसदको खबर के छ भनेर चासो नराख्ने उनले अन्तरवार्तामा सुनाइन्।
"कस्तो छ भने हाम्रो गुल्मी जिल्लामा अरूसँग के छ थाहा भएन। हाम्रो गुल्मी जिल्लाको नेताहरूले कलाकार चिन्नु हुन्न," जनता जान्न चाहन्छन् कार्यक्रमका प्रस्तोता ऋषि थपलियासँगको कुराकानीमा भनिन्, "कुन कलाकारले कुन गीत गाएको भनेर चिन्नु हुन्न के? त्यहीँ भएर मैले पनि हाम्रो जिल्लाको नेताहरूको त्यति धेरै चासो राख्दिनँ।"
उनले चार वर्षअघि ‘शिरफूल शिरको मेरो माया गुल्मीतिर’ बोलको गीत गाएकी थिइन्। उक्त गीतमार्फत आफूले गुल्मीलाई अझ धेरै श्रोतासम्म चिनाउन सहयोग गरे पनि नेताले केही नगरेको शान्तारानीको तर्क छ। उक्त गीत युट्युबमा दश लाखले हेरेका छन्।
उनी भन्छिन्, "शिरफूल शिरको गीत गाएर सपोर्ट गरेको छु, गुल्मीको नाम चिनाउनका लागि। त्यो बेला एकदमै चलेको गीत हो नि त। एक जना नेताले मलाई यो गीत गाउने हाम्रो गुल्मीको गायिका रहिछन् भनेर चिन्नुभयो त? कसैले मलाई फोन कल गर्नुभयो त? उहाँको पनि त दायित्व हो नि त। उहाँ नेता भएर ठुलो बनाएर हामीले कल गर्नुपर्ने, उहाँलाई हामीले ज्युँ ज्युँ गर्नुपर्ने! हामी पनि कलाकार हो नि त।"
हजार/बाह्र सय गीत गाइसकेको दाबी गरेकी शान्तारानी ‘म त ढले ढले’पछि मात्रै नोटिस परको देखिन्छ। मिडिया अन्तरवार्ताहरू पनि यही गीतले चर्चा पाएपछि तीव्र भएको देखिन्छ। गीतहरू चल्न निकै गाह्रो भएको र कुन गीत कति बेला चल्छ भन्ने थाहा नहुने उनले अन्तरवार्तामा खुलाएकी छन्।
"मैले हजार, १२ सय गीत गाए होला," उनले भन्छिन्, "गीतहरू चल्न निकै गाह्रो छ। कुन गीत कति बेला चल्छ थाहा हुँदैन। गीत चल्ने भनेको वर्षमा ५-६ वटा मात्रै हो। त्यसमा कसको भाग्य चम्किने हो।"
साउन १५, २०८३ शुक्रबार १५:५६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।