शान्ति, सद्भाव र सहकार्यको लागि देउवाको अपिल
काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा केही दिनदेखि देखिएको तनावग्रस्त गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सामाजिक सद्भाव, एकता र शान्ति कायम राख्न अपिल गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले नेपालीहरूको विशेषता एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु भएको उल्लेख गरे। सहकार्य र शान्तिको आदर्शलाई अनुसरण गर्न उनले अनुरोध गरे।
घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। साथै, उनले घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
हिंसा थप भड्किन नदिन सरकारको ध्यानाकर्षण गराउँदै देउवाले सबै राजनीतिक दलहरूसँग सहकार्य गरी तत्काल आवश्यक पहल र प्रभावकारी कदम चाल्न आग्रह गरे।
आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको विवाद आज पाचौं दिन मदेश प्रदेशका जिल्लासम्म फैलिएको छ। बिहीबार सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ।
साउन १४, २०८३ बिहीबार २२:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।