राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं : देशवासीको नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ। सुनसरीको स्थानीय विवादबाट उत्पन्न हिंसात्मक घटना मधेसका जिल्लासम्म पुगेपछि उनले बिहीबार साँझ देशवासीको नाममा सम्बोधन गरेका थिए। 

सम्बोधनको क्रममा उनले अहिलेको अवस्था संवेदनशील रहेकोले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको र छानबिन निष्पक्ष र पारदर्शी हुने बताए। 

उनले सामाजिक सद्भाव बिथोल्ने गतिविधि रोक्न सरकारले कडा कदम चाल्ने चेतावनी दिएका थिए। उनले सामाजिक सञ्जालमा अपुष्ट र घृणा फैलाउने सामग्री नफैलाउन समेत आग्रह गरे।

साउन १४, २०८३ बिहीबार २१:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।