मधेसमा बढ्दो तनावपछि रविले गरे मधेस केन्द्रित दलसँग छलफल
काठमाडौं : सुनसरीको कप्तानगञ्जबाट सुरु भएको विवाद मधेस प्रदेशका जिल्लासम्ममा फैलिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन्।
बिहीबार साँझ सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा रविले मधेसमा बढ्दो तनाव न्यूनीकरणका विषयमा छलफल गरेका हुन्।
छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, सांसद महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका नेता जयकान्त राउत, संविधानसभा सदस्य रामकुमार शर्मा लगायतको उपस्थिति थियो।
रास्वपाका तर्फबाट सभापति लामिछानेसँगै महामन्त्री विपिन आचार्य र संसदीय दलका उपनेता गणेश पराजुली सहभागी थिए। बिहीबार सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ।
यसअघि सभापति लामिछानेले कोशी र मधेसका आफ्नो पार्टीका सांसदहरूसँग पनि वस्तुस्थितिबारे परामर्श गरेका थिए।
साउन १४, २०८३ बिहीबार २०:३४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।