दिदी-भाइको सम्बन्धको कथामा ‘पार्वती’ !
काठमाडौं : गुरुपूर्णिमाको अवसरमा बुधबार नीता ढुङ्गानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’को टिजर सार्वजनिक भयो।
दिदी-भाइको माया र उनीहरूको कारुणिक सम्बन्धलाई दर्शाइएको १ मिनेट ५७ सेकेन्ड लामो टिजरमा अटिजम भएकी दिदीको भूमिकामा नीता र उनका भाइको रूपमा देखिएका बालगायक/कलाकार अशोक दर्जी देखिएका छन्।
भदौ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको टिजरभरि नीता र अशोकको अभिनय नै छाएको छ।
श्रीमान् हरिहर अधिकारी निर्माता र श्रीमती नीता निर्देशक/नायिका रहेको यो ‘पार्वती’ प्रोजेक्टलाई लिएर बजारमा पहिलेदेखि नै अनेकौं अड्कलबाजी थिए।
यसअघि फिल्मको रत्यौली गीत ‘नौतुना रेलैमा’ले युट्युब र टिकटकमा राम्रै चर्चामा छ।
फिल्ममा नीता र अशोकका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल जस्ता कलाकारहरूको अभिनय देख्न पाइनेछ।
शिवम् अधिकारीको स्क्रिप्ट, सुदीप बरालको क्यामेरा र रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन्।
हर्क साउदको शब्द, दीपक शर्मा र बाबुल गिरीको सङ्गीत अनि रचना रिमाल र सहिमा श्रेष्ठको आवाज रहेको फिल्मलाई एफडी, एप्पल र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् भने डिजिटल अधिकार ओएसआर लिइसकेको छ।
साउन १४, २०८३ बिहीबार १०:२७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।