गायक पशुपति शर्माको फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’को छायांकन सुरु
काठमाडौं : ‘मलाई अमेरिका यहीँ’,‘सुती सुती खान्छु भन्दा ढाड दुखेर मार्यो’ जस्ता चर्चित कमेडी शैलीका गीतबाट दर्शकको मन जित्न सफल लोक गायक पशुपति शर्मा अब फिल्मको मुख्य भूमिकामा देखिने भएका छन्।
उनी हास्यव्यङ्ग्य कथावस्तुमा आधारित फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ मार्फत फिल्ममा डेब्यु गर्न लागेका हुन्।
सोमबार काठमाडौंको नैकापस्थित वेस्ट सिटी अस्पतालबाट फिल्मको औपचारिक छायांकन सुरु गरिएको छ।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्ममा पशुपति शर्माका साथै कमेडियन प्रभात लामा पनि मुख्य भूमिकामा देखिँदैछन्। डाक्टर महावीर पुन, हर्क साम्पाङ र राजेश हमाल जस्ता व्यक्तित्वहरूको क्यारिकेचर गरेर दर्शकलाई हँसाउँदै आएका लामा फिल्म 'तीन तिघ्रे' मध्ये एक प्रमुख पात्रका रूपमा देखिनेछन्।
यस फिल्ममा गायक पशुपति शर्मा, प्रभात लामाका अलवा परितोषिका पन्त, समिया कार्की, पृथ्वीराज प्रसाईं, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, विनोद केसी, लीसा क्षेत्री, सुरेश तिमल्सिना, राजु तिमल्सिना, आयुष्मा गिरी तथा पवन खतिवडा ’बाबा’ लगायतको अभिनय रहनेछ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा चलचित्र पत्रकार संघका कार्यवाहक अध्यक्ष समेत रहेका रघुनाथ सापकोटा लगानी गरेका छन भने निरज नेपालले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन्।
निर्माण पक्षका अनुसार यो फिल्म पूर्ण रूपमा कमेडी जनरामा आधारित रहनेछ।
फिल्ममा रहने सम्पूर्ण गीतहरूको सिर्जना अभिनेता तथा गायक पशुपति शर्मा स्वयंले गर्नेछन्।
संकल भुजेलको छायांकन रहने यस फिल्मको मुख्य सहायक निर्देशकमा सगुन तामाङ र सहायक निर्देशकहरूमा उत्सव पौडेल, सबिता रेग्मी तथा धर्मेन्द्र केसी रहेका छन्।
आरआर फिल्म्सले देशभर वितरणको जिम्मा लिएको फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
यसअघि निर्माता सापकोटाले फिल्म ‘चिलगाडी’ निर्माणको घोषणा गरे गरेका थिए, जुन हालसम्म निर्माण हुन सकेको छैन।
साउन १३, २०८३ बुधबार १३:४७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।