राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, सुनसरी घटनाबारे ब्रिफिङ

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, सुनसरी घटनाबारे ब्रिफिङ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। सभापति लामिछाने बुधबार राष्ट्रपतिलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन्।

रास्वपा सचिवालयका अनुसार भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था र पछिल्लो घटनाक्रमबारे छलफल भएको थियो।

विशेषगरी, सुनसरीमा दुई पक्षबीच भएको झडप र त्यसपछिको तनावपूर्ण अवस्थालाई लिएर सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका थिए।

सुनसरीको अवस्थालाई लिएर रास्वपाले बुधबार नै सिंहदरबारमा आयोजना गरेको सर्वदलीय बैठक र त्यहाँ दलहरूबीच भएको छलफलबारे पनि उनले राष्ट्रपतिलाई जानकारी गराएका थिए।

सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने विषयमा सर्वदलीय बैठकले निकालेको निष्कर्षबारे पनि भेटमा कुराकानी भएको रास्वपा सचिवालयले जनाएको छ।

सुनसरीमा दुई पक्षबीचको तोडफोड र आगजनीपछि अहिले ८ वटा पालिकामा पूर्ण र २ वटा पालिकामा आंशिक कर्फ्यू लगाइएको छ।

साउन १३, २०८३ बुधबार १२:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।