के 'फलानो ढिस्कानो’ मा मेटिएला साइग्रेसको कमजोर अभिनयको छाप?

के 'फलानो ढिस्कानो’ मा मेटिएला साइग्रेसको कमजोर अभिनयको छाप?

काठमाडौं : कथावाचनको फरक शैलीमार्फत युवापुस्तामाझ चर्चामा रहेका साइग्रेस पोखरेलले गत वर्ष फिल्म ‘आ बाट आमा’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरे। तर, साइग्रेसले कथावाचकका रूपमा जति प्रशंसा कमाए, अभिनेता बनेपछि त्यति नै आलोचना पनि खेप्नुपर्यो। 

चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको उक्त फिल्ममा दर्शकलेसाइग्रेसको अभिनय निकै फिक्का रहेको प्रतिक्रिया दिए।

'आ बाट आमा'का दुईटै सिरिजमा अभिनय गरेका साइग्रेस अब तेस्रो फिल्म ‘फलानो ढिस्कानो’मा अनुबन्धित भएका छन्। मंगलबार काठमाडौंको जय नेपाल हलमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले साइग्रेसलाई मुख्य अभिनेताका रूपमा औपचारिक रूपमा परिचय गरायो। तर 'साइग्रेसको जोडी चाहिँ को त?' भन्ने प्रश्नमा भने मेकरहरूले बताउन चाहेनन्।

सञ्चारकर्मीहरूले पनि कहाँ छाड्थे र! सिम्रन पन्त, उपासना सिंह ठकुरीदेखि बेनिशा हमालसम्मका नाम लिदै साइग्रेसको मुखबाट नायिकाको नाम फुत्काउन खोजे। तर, साइग्रेसले पनि 'केही दिनमै घोषणा हुन्छ' भन्दै टारिदिए। राजकुमारको निर्देशन तथा अर्जुन कुमारको निर्माणमा बन्न लागेको ‘फलानो ढिस्कानो’ को छायांकन आगामी दसैँपछि सुरु हुने तयारी छ।

पहिलो फिल्ममा अभिनय फितलो भएको भन्दै आलोचित बनेका साइग्रेसलाई कार्यक्रममा सञ्चारकर्मीले अभिनय सुधारबारे सीधा प्रश्न गरे। साइग्रेसले पनि विगतको कमजोरी स्वीकार गर्दै अभिनयका साथै डान्स पनि सिकिरहेको र पहिलो फिल्मभन्दा राम्रो बन्ने दाबी गरे। 

कार्यक्रममा साइग्रेसले आफूले अहिलेसम्मकै महँगो पारिश्रमिक लिएको दाबी पनि गरे। तर, उनले ठ्याक्कै रकम भने खुलाएनन्।

नेपाली फिल्म क्षेत्रमा कलाकारको पारिश्रमिकलाई लिएर विभिन्न दाबी र चर्चा नयाँ विषय होइन। सार्वजनिक रूपमा ठूलो पारिश्रमिकको चर्चा हुने गरे पनि वास्तविक पारिश्रमिक त्यसभन्दा निकै कम हुने गरेको चर्चा फिल्म वृत्तमा बेला–बेलामा सुनिने गरेको छ।  

साइग्रेसले कति रकम बुझे त्यो उनको निजी विषय होला, तर दर्शकका लागि भने मुख्य कुरा पारिश्रमिक नभएर पर्दामा देखिने जीवन्त अभिनय र फिल्मको राम्रो कथावस्तु नै हो। 

साउन १२, २०८३ मंगलबार १५:३३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।