१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, छोरा यमनसँग संयुक्त प्रस्तुति दिने
काठमाडौं : वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ १८ वर्षपछि पलेँटीको मञ्चमा प्रस्तुति दिने भएका छन्।
नेपालयले आयोजना गर्दै आएको सांगीतिक शृंखला पलेँटीमा यसपटक उनी आफ्ना छोरा तथा गायक यमन श्रेष्ठसँग संयुक्त प्रस्तुति दिनेछन्।
हास्यव्यङ्ग्य कलाकारितामा हरिवंश आचार्यसँगको जोडीका रूपमा स्थापित मदनकृष्णले सांगीतिक यात्रा भने गायनबाट सुरु गरेका थिए। उनले रेडियो नेपालसँगै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा पनि गीत प्रस्तुत गरिसकेका छन्।
पछिल्लो समय स्वास्थ्य समस्याका बाबजुद पनि मदनकृष्ण सांगीतिक तथा फिल्मी क्षेत्रमा आफ्नो सक्रियता निरन्तर कायम राख्दै आएका छन्।
यसपालिको पलेँटीमा मदनकृष्णले ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’ र ‘सयथरी बाजा’ लगायतका लोकप्रिय गीतसँगै आफ्ना नयाँ सिर्जना पनि प्रस्तुत गर्नेछन्। उनले ‘बिर्सिँदे भन्छौ मायालु’ र ‘पहाड भो मलाई’ जस्ता पछिल्ला गीतसमेत गाउने तयारी गरेका छन्।
कार्यक्रममा गायक यमन श्रेष्ठको प्रस्तुति पनि विशेष आकर्षण रहने आयोजकले जनाएको छ। अभिनयसँगै गायन र संगीतमा सक्रिय यमनले ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्तीदेखे जहाँ’ र ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायतका गीत प्रस्तुत गर्नेछन्।
पलेँटीको अभ्यासका क्रममा १८ वर्षअघिको अनुभव स्मरण गर्दै मदनकृष्णले छोरासँग एउटै मञ्च साझा गर्न पाउँदा खुसी व्यक्त गरे। उनले भने, "१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाएको थिएँ। खुब रमाइलो लागेको थियो। यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु, झन् रमाइलो हुनेछ भन्ने आशा छ।"
यमनले पनि अभ्यास रमाइलो भइरहेको र कार्यक्रम अझ विशेष हुने विश्वास व्यक्त गरे।
नेपालयका अनुसार कार्यक्रम अंग्रेजी महिनाको जुलाई ३१ (शुक्रबार) र अगस्ट १ (शनिबार) मा कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुनेछ।
साउन १२, २०८३ मंगलबार १२:५०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।