‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री

‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं : आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ।

निर्माण टिमका अनुसार ‘माया डिजिटल’ ले फिल्मको अमेरिका प्रदर्शन अधिकार खरिद गरेको हो। यद्यपि, खरिद रकमबारे भने निर्माण पक्षले केही खुलाएको छैन।

अमेरिकामा प्रदर्शन अधिकार बिक्री भएपछि फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले खुसी व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत अमेरिकामा रहेका दर्शकलाई फिल्म हेरिदिन आग्रह गर्दै उनले लेखेकी छन्, ‘माया, सङ्घर्ष, स्वीकार्यता र आत्मीय सम्बन्धको यो भावनात्मक चलचित्र अब अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा चलचित्रप्रेमी दर्शकमाझ पनि पुग्दैछ।’

नीताका अनुसार अमेरिकाबाहेक अन्य देशका वितरकसँग पनि प्रदर्शनबारे सकारात्मक छलफल भइरहेको छ।

नीता ढुङ्गानाकै कथा र निर्देशनमा निर्मित यस फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतका कलाकारको अभिनय छ।

शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायाङ्कन र रामजी लामिछानेको नृत्य निर्देशन छ।

‘नीता फिल्म्स’ को प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे हुन्। यसअघि नीता फिल्म्सले ‘ह्रस्वदीर्घ’ निर्माण गरेको थियो।

साउन ८, २०८३ शुक्रबार १२:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।