दिल्ली एयरपोर्टको विशेष कक्षमा नाजिर हुसेनमाथि केरकार
काठमाडौं : अभिनेता नाजिर हुसेनले भारतको नयाँ दिल्लीस्थित विमानस्थलमा आफूमाथि भारतीय सुरक्षाकर्मीले बिनाकारण केरकार गरेको गुनासो गरेका छन्।
आफ्नो नाम ‘मोहम्मद नाजिर हुसेन’ भएकै कारण आफूलाई शंकाको दृष्टिले हेर्दै विशेष कक्षमा लगेर पटक-पटक सोधपुछ गरिएको भन्दै उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।
भारतस्थित नेपाली राजदूतावासको आयोजनामा चलचित्र ‘गुन्यू चोलो’ को विशेष प्रदर्शनका लागि उनी दिल्ली पुगेका थिए।
कार्यक्रम सकेर नेपाल फर्किने क्रममा दिल्ली एयरपोर्टमा उनीसँगै रहेका निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीलाई सुरक्षाकर्मीले कुनै रोकटोक गरेनन्।
तर, नाजिरलाई भने विशेष सुरक्षा कक्षमा लगेर केरकार गरिएको थियो।
आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै नाजिरले सुरक्षाकर्मीसँगको संवाद उल्लेख गरेका छन्।
भारतीय सुरक्षाकर्मीले उनलाई ‘नेपाल किन जाँदैछौ?’ (नेपाल क्युँ जा रहे हो ?) भनेर सोधेका थिए। जवाफमा नाजिरले ‘म आफ्नो घर फर्किँदैछु’ भनेका थिए।
त्यसपछि ‘तिमीसँग कति पैसा छ?’ भन्ने प्रश्नमा आफूसँग भारतीय रुपैयाँ नभएको जानकारी गराउँदै आफू भारत आउनुको कारण स्पष्ट पारेका थिए।
आफूलाई किन विशेष कक्षमा ल्याएर यस्ता प्रश्न गरियो भनी सोध्दा सुरक्षाकर्मीले ‘कोही बात नहीँ’ भन्ने टालटुले जवाफ दिएको नाजिरले बताएका छन्।
उक्त जवाफप्रति चित्त नबुझाएका उनले लेखेका छन्, ‘यो मेरो प्रश्नको जवाफ होइन। यदि ‘कोही बात नहीँ’ भने किन यस्तो गरियो? मेरो पूरा नाम मोहम्मद नाजिर हुसेन हो। यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छ र विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो। होइन भने मैले कारण थाहा पाउनुपर्छ।’
पासपोर्ट स्क्यान गर्दा व्यक्तिको सम्पूर्ण जानकारी सिस्टममा देखिने भए पनि आफूमाथि नियतवश यस्तो व्यवहार भएको उनको बुझाइ छ। दिल्ली एयरपोर्टमा उनीमाथि यस्तो घटना भएको यो दोस्रो पटक हो।
पहिलो पटक सोधपुछ गर्दा आफूले सामान्य रूपमै लिए पनि दोस्रो पटकको घटना भने आफूलाई ठीक नलागेको उनले बताएका छन्।
नेपाल फर्किने क्रममा नेपाल एयरलाइन्सको जहाजभित्र टिभीमा गुगल म्यापले ‘लुम्बिनी’देखाएपछि मात्र आफूले सुरक्षित महसुस गरेको उनले लेखेका छन्।
आफूमाथि भएको यो व्यवहारको वास्तविक कारण जान्न चाहँदै अभिनेता हुसेनले आफ्नो स्टाटसमा नेपाल सरकार, भारतीय दूतावास र चलचित्र विकास बोर्डलाई ट्याग गरेका छन्।
साउन ८, २०८३ शुक्रबार ११:१४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।