‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’मा ‘एन्जिला’ उत्कृष्ट चलचित्र, दीपकराज र मिरुना उत्कृष्ट कलाकार

‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’मा ‘एन्जिला’ उत्कृष्ट चलचित्र, दीपकराज र मिरुना उत्कृष्ट कलाकार

काठमाडौं : चीनको हुनान प्रान्तमा गत अप्रिलमा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेताहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहबीच नगद पुरस्कारसहित अवार्ड वितरण गरिएको छ।

चीनका चलचित्र विज्ञहरूको टोलीले गरेको मूल्याङ्कनका आधारमा विभिन्न विधामा उत्कृष्ट हुने स्रष्टाहरूलाई चलचित्र विकास बोर्डको सहकार्यमा पुरस्कृत गरिएको हो।

समारोहमा नेपाल-चीन चलचित्र सहकार्यमा योगदान पुर्याउने चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरू, फेस्टिभलका नेपाल अध्यक्ष करुण थापा र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई विशेष सम्मान गरिएको थियो।

प्रमुख अतिथि वरिष्ठ अभिनेता हरिहर शर्माको आह्वानमा चिनियाँ टोलीलाई ‘स्ट्यान्डिङ ओभेसन’ दिएर सम्मान गरिएको थियो।

यसै अवसरमा चिनियाँ लगानीकर्ताले नेपाली चलचित्रमा सह-उत्पादन गर्ने र प्रविधिको प्रयोग गरी निर्माण हुने नेपाली चलचित्रलाई चीनका प्रमुख ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन गर्न सहकार्य गर्ने सहमतिसमेत भएको आयोजकले जनाएको छ।

आगामी संस्करणलाई अझै ठूलो आकारमा आयोजना गरिने फेस्टिभलका संस्थापक अध्यक्ष लि हङ्सुले बताए।

कुन विधामा कसले मारे बाजी ?
उत्कृष्ट चलचित्र: ‘एन्जिला’ (४ हजार अमेरिकी डलर)
उत्कृष्ट निर्देशक: शंकर घिमिरे, चलचित्र 'तेल भिसा' (२ हजार अमेरिकी डलर)
उत्कृष्ट अभिनेता: दीपकराज गिरी, चलचित्र 'छक्का पञ्जा' (१ हजार अमेरिकी डलर)
उत्कृष्ट अभिनेत्री: मिरुना मगर, चलचित्र 'कबड्डी ४' (१ हजार अमेरिकी डलर)
उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान, चलचित्र 'महाजात्रा' (१ हजार अमेरिकी डलर)
उत्कृष्ट सम्पादक: बनिष शाह र विकास दाहाल, चलचित्र ‘हस्टेल ३’ (१ हजार अमेरिकी डलर)

साउन ७, २०८३ बिहीबार १०:३७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।