प्रदर्शन मिति टरेको चार महिना पुग्दा ‘३६ को आँकडा’ कहाँ हरायो?
काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एउटा प्रवृत्ति छ- निर्माण कार्य सम्पन्न नहुँदै प्रदर्शन मिति तोक्ने हतारो। यस्तै हतारो निर्देशक सबिर श्रेष्ठ र अभिनेत्री एवं निर्मात्री रेखा थापामा पनि देखियो।
गत चैत २७ गते प्रदर्शनमा आउने भनिएका फिल्ममध्ये एक थियो ‘३६ को आँकडा’। तोकिएकै समयमा फिल्म हलमा लाग्ने भनेर सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गरिए पनि अन्ततः प्रदर्शन हुनु २० दिनअघि फिल्म रोकियो।
निर्माण पक्षले केही दृश्य खिच्न बाँकी रहेकाले समयमै फिल्म प्रदर्शन गर्न नसकेको स्वीकार गरेको थियो। तर, पहिलो पटक तोकिएको प्रदर्शन मिति गुज्रिएको चार महिना पुग्न लाग्दा पनि फिल्मको विषयमा कुनै चर्चा छैन। यतिबेला यो फिल्म चुपचाप, गुमनाम अवस्थामा छ।
चार महिना यता यस फिल्मकी निर्मात्री रेखा थापा र अभिनेत्री पूजा शर्माको फेसबुकमा फिल्मबारे कुनै अपडेट भएको देखिँदैन। बरु अरू नै फिल्मको प्रचारप्रसार सामाग्री भने भेट्न सकिन्छ। लामो समयसम्म कुनै जानकारी नआउँदा दर्शकले फिल्मको नाम नै बिर्सिसके कि भन्दा फरक नपर्ला! आखिर यो फिल्म अब कहिले प्रदर्शनमा आउँछ?
हुन त रेखा थापालाई आफूले अभिनय र निर्देशन गरेका अन्य फिल्मको प्रचारबाट फुर्सद छैन। आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ककाकिकी’ र आफूले निर्देशन गरेको ‘माया भनेको यस्तो होला’को प्रचारमा उनी व्यस्त छिन्।
एक हप्ताको अन्तरालमा प्रदर्शनमा आउन लागेका यी दुई फिल्मकै चर्चा भइरहँदा प्रदर्शन मिति नै अनिश्चित बनेको ‘३६ को आँकडा’ ओझेलमा परेको हो कि भन्ने अनुमान गर्न सकिन्छ।
अथवा, भदौ र असोजमा फिल्महरूको चाप भएका कारण निर्माण टिमले तिहारको आसपासमा फिल्म रिलिज गर्ने योजना बनाएको पो हो कि? अहिले नै प्रचार गर्दा अन्य फिल्मसँग जुधेर दर्शक झुक्किने डरले प्रचारलाई थाती राखिएको पनि हुन सक्छ।
जे भए पनि फिल्मको अस्तित्व जोगाइराख्न रेखा र पूजाले समय-समयमा ‘३६ को आँकडा’बारे अपडेट दिनु जरुरी देखिन्छ। नत्र त रिलिजको समयमा आफ्नै फिल्म जुधेर नभ्याउँला नि? कि कसो हो?
साउन ५, २०८३ मंगलबार १९:४१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।