भारतीय फिल्म टक्सिकको भयले अन्य नेपाली फिल्मले मैदान छाड्दा नीता भने मैदानमै अडिग!
काठमाडौं : भदौ १२ गतेका लागि फिल्म घोषणा गर्नेको ताँती नै थियो। 'पार्वती', 'मास्टर्नी', 'जदौ', 'बेहुली' र 'ग्रेट'ले भदौ १२ गतेका लागि प्रदर्शन मिति तोकेका थिए।
तर जब दक्षिणबाट यशको 'टक्सिक' प्रदर्शनमा आउने पक्का भयो, नेपाली फिल्महरू धमाधम पछि हट्न थाले। प्रदर्शन मिति सार्ने सूचीमा फिल्म जदौ पनि थपिएको छ, जुन अब असोज ९ गते पुगेको छ।
प्रतिस्पर्धी फिल्महरूले पालैपालो मैदान छाड्दा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना भने विचलित देखिएकी छैनन्। भारतीय फिल्मको दबदबाका बीच उनी आफ्नो फिल्ममाथि विश्वाससहित सोही मितिमा दर्शकमाझ आउने तयारीमा छन्।
भदौ १२ गतेका लागि प्रदर्शन मिति तोकेका नेपाली फिल्महरू लाखापाखा लागेपछि अब नीताको फिल्म पार्वतीका लागि हाइसन्चो भएको छ। यसअघि प्रदर्शन मिति सार्ने फिल्ममध्ये ‘मास्टर्नी’ले भदौ ५ गते पुगेको छ भने बेहुलीले २६ गतेको लागि सरेको छ।
साथै जदौले पनि भदौँ १२ गतेबाट तर्किएर असोज ९ गते पुगेको छ। यता ‘ग्रेट’का निर्देशक मनोज पण्डित तत्काल फिल्म प्रदर्शन गर्ने पक्षमा छैनन्।
भारतीय फिल्म ‘केजीएफ’स्टार यश अभिनीत ‘टक्सिक’ १० भदौबाट रिलिज हुँदैछ। अब भारतीय फिल्म टक्सिकसँग भिड्ने नेपाली फिल्म 'पार्वती' अहिलेसम्म एक्लो जस्तो देखिएको छ।
यद्यपि भारतीय फिल्महरूको दबदबाका अघि नेपाली फिल्महरू भने प्रदर्शनको मुखैमा रोकिएका घटना छन्। अब नीताको फिल्म ‘पार्वती’ पनि नरोक्ला भन्न त सकिन्न! तर अहिलेसम्म डगमगाएको नदेखिँदा उनको प्रशंसा भने भइरहेको छ।
साउन ४, २०८३ सोमबार १९:५९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।