आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की, मुम्बई प्रहरीद्वारा अनुसन्धान सुरु

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की, मुम्बई प्रहरीद्वारा अनुसन्धान सुरु

एजेन्सी : बलिउड अभिनेता आमिर खानलाई लरेन्स बिश्नोईको समूहबाट ज्यान मार्ने धम्की आएको दाबी गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको पोस्ट र भ्वाइस नोटमार्फत धम्की दिइएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एनडीटीभीका अनुसार, बिश्नोई ग्याङका सहयोगी भनिएका आरजु बिश्नोई र टायसन बिश्नोई नामको सामाजिक सञ्जाल खाताबाट पोस्ट गर्दै आमिर खानमाथि ‘लभ जिहाद’ प्रवर्द्धन गरेको आरोप लगाइएको छ। पोस्टमा उनलाई तेस्रो विवाह गरेको विषयसमेत उल्लेख गर्दै चेतावनीपूर्ण सन्देश दिइएको बताइएको छ।

यसअघि आमिर खानले आफूमाथि लागेको 'लभ जिहाद' आरोपको खण्डन गर्दै आफ्ना सबै विवाह स्पेशल म्यारिज एक्ट अन्तर्गत भएको बताएका थिए। उनले आफ्नी कुनै पनि पत्नीले धर्म परिवर्तन नगरेको र हालकी पत्नी गौरी स्प्रैट इसाई धर्मावलम्बी रहेको स्पष्ट पारेका थिए।

आमिर खानले हालै ५ जुलाई मा उद्यमी गौरी स्प्रेटसँग तेस्रो विवाह गरेपछि यो धम्की आएको हो। उक्त पोस्टमा स्टारडमको आडमा संस्कृति विरुद्ध जानेहरूलाई ठेगान लगाउने चेतावनीसमेत दिइएको छ।  

उक्त पोस्टमा राजस्थानको श्रीगंगानगरमा १३ वर्षीया बालिकामाथि भएको अपहरण, मानव बेचबिखन र यौन दुर्व्यवहारको घटनासमेत उल्लेख गरिएको छ। घटनामा संलग्न दोषीहरू कानुनी कारबाहीबाट उम्किए आफूहरूले कारबाही गर्ने चेतावनी दिइएको छ भने उनीहरूलाई संरक्षण गर्ने राजनीतिक नेताहरूमाथि पनि धम्कीपूर्ण अभिव्यक्ति दिइएको छ।

त्यस्तै, प्रहरी इन्काउन्टरमा मारिएका आफ्ना दुई सहयोगी परभेश र हिमांशुको बदला लिने कुरा पनि पोस्टमा उल्लेख छ।

मुम्बई प्रहरीका अनुसार उक्त सामाजिक सञ्जाल अकाउन्ट र भ्वाइस नोटको आधिकारिकताबारे प्राविधिक जाँच भइरहेको छ। 

यस घटनाबारे हालसम्म आमिर खानले कुनै आधिकारिक उजुरी दर्ता गराएका भने छैनन्। उजुरी नपरे पनि मुम्बई प्रहरी र क्राइम ब्रान्चको टोलीले बान्द्रास्थित आमिर खानको निवास र उनी हाल बसिरहेको अस्थायी स्थानहरूको सुरक्षा अवस्थाको निरीक्षण गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

लरेन्स बिश्नोई ग्याङले यसअघि अभिनेता सलमान खानलाई पटक–पटक धम्की दिँदै आएको थियो। अहिले आमिर खानको नामसमेत जोडिएपछि घटनालाई प्रहरीले गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।

साउन २, २०८३ शनिबार १४:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।