‘सिटामोल’ पछि राजबहादुरको अर्को बाजी, ‘लज्जावती’ले सानेको फिल्मी साख जोगाउला?

‘सिटामोल’ पछि राजबहादुरको अर्को बाजी, ‘लज्जावती’ले सानेको फिल्मी साख जोगाउला?

काठमाडौं : फिल्म फ्लप होस् या हिट, निर्देशक राजबहादुर सानेलाई त्यसले खासै फरक पार्दैन। कर्णालीका कथालाई पर्दामा उतार्न सिपालु बक्स अफिस जे भए पनि फिल्म बनाउन छोड्दैनन्, बनाइरहन्छन्।

गत वर्ष निकै अपेक्षा गरिएको फिल्म ‘सिटामोल’ले बक्स अफिसमा दर्शकको खासै ‘तापक्रम’ बढाउन सकेन, तर साने गलेका छैनन्। उनी पुनः अर्को नयाँ प्रोजेक्ट ‘लज्जावती’ लिएर दर्शकमाझ आउने तयारीमा छन्।

आगामी साउन २९ गतेलाई प्रदर्शन मिति तोकेको ‘लज्जावती’को प्रमोसन अहिले सुरू भइसकेको छ। केही दिनअघि फिल्मको पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक भयो।

बाबुल गिरीको शब्द-संगीत अनि रवि ओड र सहिमा श्रेष्ठको स्वरले गीतलाई त ‘हाइप’ दिएको छ, तर फिल्मको समग्र चर्चा भने अझै ‘मन्द’ नै देखिन्छ।

सानेको फिल्मको एउटा विशेषता भनेको कलाकारको लामो सूची हो। ‘लज्जावती’मा पनि उनले स्थापितदेखि नयाँसम्मका कलाकारको मेला नै लगाएका छन्।

मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी र केशव रिजालदेखि पुराना स्टार धिरेन शाक्यसम्म यो फिल्ममा देखिनेछन्।

यति मात्र होइन, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ र काजल भुजेल जस्ता थुप्रै अनुहारलाई सानेले एउटै पर्दामा अटाएका छन्।

यति धेरै कलाकारलाई न्यायपूर्ण भूमिका दिएर सानेले कस्तो खिचडी पकाएका छन्, त्यो भने हेर्न बाँकी नै छ ।

आहा फिल्मस्को ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको यो फिल्मलाई दिव्यराज सुवेदीले खिचेका हुन्।

सौरभ ओली प्रस्तुतकर्ता रहेको फिल्ममा कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माताका रूपमा छन् भने दिनेश राज बुढाथोकीले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन्।

‘सिटामोल’को असफलतापछि राजबहादुर सानेका लागि ‘लज्जावती’ एक किसिमको प्रतिष्ठाको लडाइँ पनि हो।

साउन २९ मा यो ‘लज्जावती’ले दर्शकको मन जितेर सानेको अनुहारमा खुसी ल्याउँछ कि फेरि अर्को संघर्षको कथा थप्छ? हेर्न बाँकी नै छ।

साउन २, २०८३ शनिबार १३:४४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।