भदौ र असोजमा नीतिको दुई फिल्म : डान्स त सुध्रियो, एक्टिङको के छ खबर?
काठमाडौं : मोडलबाट अभिनेत्री बनेकी नीति शाहका लागि सुरुवाती दिन सुखद रहेनन्।
डेब्यु फिल्म ‘खजुरे ब्रो’ हलमा आउँदा धेरैले भन्थे- ‘नीतिसँग रुप त छ, तर अभिनय र डान्स भने जिरो।’ फिल्म फ्लप भयो, र धेरैले अड्कल काटे- ‘नीतिको फिल्मी करियर सकियो!’
तर, जसको अभिनयको आलोचना भयो, उनैको हातमा अहिले आधा दर्जन फिल्मको लाइन छ।
‘खजुरे ब्रो’ पछि नीतिले ‘ज्वाइँ साब’, ‘कोशेढुङ्गा’, ‘नरसिंहा : अवतार’ र ‘माया भनेको यस्तो होला’ हुँदै ‘जदौ’ सम्मको यात्रा तय गरिसकेकी छन्। अहिले त उनी वर्षकै व्यस्त नायिकामध्ये एक बनेकी छन्।
भदौ र असोजमा नीतिकै ‘राज’ !
आगामी दुई महिना नीतिका लागि ‘अग्निपरीक्षा’ सावित हुनेछन्।
रेखा थापाको निर्देशनमा बनेको ‘माया भनेको यस्तो होला’ भदौ २६ मा आउँदैछ भने त्यसको ठ्याक्कै दुई सातापछि असोज ९ मा ‘जदौ’ रिलिज हुँदैछ।
दुवै फिल्मको प्रोमोसनमा कुद्नुपर्ने दबाबमा रहेकी नीतिलाई अहिले भ्याइनभ्याइ छ।
‘डान्स त गरिन्, अभिनय के होला?’
शुक्रबार फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक गरियो।
कार्यक्रममा उपस्थित फिल्मकर्मी र पत्रकारबीच एउटै गसिप चलिरहेको थियो- ‘प्रभातपाल ठकुरी जस्तो मन्जेको डान्सरसँग नीतिले कत्तिको ताल मिलाउन सकेकी होलिन्?’
कतिपयले त ‘प्रभातपालले नै नाचेर इज्जत जोगाइदिए होलान्’ भन्नेसम्मका कुरा काट्न भ्याए।
तर, जब स्क्रिनमा गीत बज्यो, धेरैको मुख बन्द भयो। नीतिको डान्समा यसअघिका फिल्मको तुलनामा निकै सुधार देखिएको छ। उनको स्टेप र ग्रुम लोभलाग्दो पाइयो।
अब पालो अभिनयको...
डान्स त सुध्रियो, तर के अभिनय पनि सुध्रिएको छ त? यो प्रश्न अहिले पनि उत्तरविहीन छ।
फिल्म ‘नरसिंहा : अवतार’ मा नीतिको डायलग खासै नभएका कारण उनले आफ्नो प्रतिभा देखाउन पाएकी थिइनन्। त्यसैले, अन्जन शर्मा र काजी लिम्बुको निर्देशनमा बनेको ‘जदौ’ नीतिका लागि कडा परीक्षा हो।
के नीतिले यसपटक आफ्ना आलोचकहरूको मुख थुन्लिन् त? भदौ २६ र असोज ९ नै कुर्नुपर्ला!
साउन २, २०८३ शनिबार १२:१८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।