दश वर्ष हराएका नीर शाहलाई अहिले किन यति हतार?

दश वर्ष हराएका नीर शाहलाई अहिले किन यति हतार?

काठमाडौं : नेपाली चलचित्र उद्योगका ‘भीष्म पितामह’ भनेर चिनिने नीर शाह यतिबेला निकै जोसमा देखिएका छन्। झण्डै एक दशकसम्म निर्देशनबाट टाढा रहेका शाहले फर्किएपछि भने विश्राम लिने मुडमा देखिएका छैनन्।

फिल्म ‘कमला मिस’ साउन २२ गते हलमा लाग्नै लाग्दा उनले धमाधम अर्को नयाँ प्रोजेक्ट ‘प्रिन्स’को घोषणा गरेर फिल्म वृत्तमा नयाँ तरंग ल्याइदिएका छन्।

शुक्रबार राजधानीको एक स्टुडियोमा चलचित्र ‘प्रिन्स’को पहिलो गीत रेकर्ड गरियो। यो गीतका लागि शब्द स्वयं नीर शाहले कोरेका छन् भने संगीतमा उनलाई पुराना सहयात्री शम्भुजित बास्कोटाले साथ दिएका छन्।

शिव परियारको स्वरमा सजिएको यो गीतसँगै नीरले आफ्नो नयाँ ‘पारी’ सुरु गरेका हुन्।

कलाकारको नाम किन राखियो गोप्य?
चलचित्रको नाम ‘प्रिन्स’ राखिए पनि त्यो ‘प्रिन्स’को भूमिकामा कुन चकलेटी हिरो देखिनेछन् भन्ने कुरालाई निर्माण पक्षले अहिलेलाई ‘सरप्राइज’ राखेको छ।

फिल्मको स्क्रिप्टमा काम गरिरहेका लेखक शिवम अधिकारी भन्छन्, ‘अहिले त हामी कलाकारसँग कुराकानीको चरणमै छौँ, साइन भएपछि मात्रै धमाका दिने योजना छ।’

यद्यपि, फिल्म नगरीमा भने नीर शाहको नयाँ राजकुमार को होला भन्ने गसिप सुरु भइसकेको छ। कोही पुराना स्थापित स्टार भन्छन् त कोही नयाँ अनुहारको खोजी भइरहेको अनुमान लगाउँछन्।

निर्देशनमा नीरको ‘सेकेन्ड इनिङ’
‘वासुदेव’, ‘वसन्ती’ र ‘सेतो बाघ’ जस्ता ऐतिहासिक र सफल फिल्म दिएका नीर शाह पछिल्लो समय अभिनयमा मात्रै सीमित थिए।

तर, १० वर्षपछि ‘कमला मिस’बाट निर्देशनमा कमब्याक गरेका उनी अब ब्याक टु ब्याक फिल्म बनाउने मुडमा छन्। ‘प्रिन्स’को छायांकन आगामी असोज २६ गतेबाट सुरु हुने बताइएको छ।

फिल्मको कथा नीर शाहकै हो भने पटकथामा उनलाई शिवम अधिकारीले सघाइरहेका छन्। छायांकनको जिम्मा चल्तीका सिनेमेटोग्राफर सौरभ लामाले पाएका छन् भने लाइन प्रोड्युसरका रूपमा पुष्कर लामा रहनेछन्।

साउन २२ मा ‘कमला मिस’ले बक्स अफिसमा कस्तो जादु देखाउँछ, त्यो त हेर्न बाँकी नै छ। तर, त्यसअघि नै नीर शाहले ‘प्रिन्स’को घोषणा गरेर आफू फिल्मी रेसमा अझै जवान रहेको सन्देश दिएका छन्।

साउन २, २०८३ शनिबार ११:५८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।