मास्टर्नी फिल्मको हल्ला गराउन बनाइएको 'अश्लील' गीत युट्युबबाट हटाइयो
काठमाडौं : फिल्मको नाम चर्चामा ल्याएर बदनियतका साथ दुइअर्थी शब्दसहित प्रमोसन गीत निकालेका दुर्गेश थापा र प्रियङ्का कार्कीको ‘मास्टर्नी’ फिल्मको प्रमोसन गीत चर्म विवादमा परेपछि उनीहरूले शुक्रबार युट्युबबाट हटाए। गायक दुर्गेश थापासँग मिलेर कार्कीले आफ्नो फिल्मको प्रचार गराउनकै लागि शिक्षण जस्तो पेसामा संलग्न शिक्षिकाहरूको चरित्रमै प्रश्न उठ्ने गरी डबल मिनिङ सुनिने शब्द राखेर गीत बनाएर म्युजिक भिडियो रिलिज गरेका थिए।
गीत सार्वजनिक भए लगत्तै यसको विरोध सुरु भएको थियो। तर उनीहरूले कुतर्क गरेर युट्युबमा गीत राखिनै रहे। प्रियङ्काले यही गीतको डबल मिनिङ शब्द राखेर प्रमोसन भिडियोहरू बनाएर आफ्नो सामाजिक सञ्जालहरूमा राखेकी छिन्। शिक्षक संघ लगायतले गीतमा प्रयोग भएका शब्दहरूप्रति तीव्र असन्तुष्टि जनाउँदै हटाउन चेतावनी दिएपछि दुर्गेश थापाले शुक्रबार बेलुका विज्ञप्तिमार्फत माफी माग्दै गीत सामाजिक सञ्जालबाट हटाएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका पेसा र यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै कला र मनोरञ्जन पस्कने क्रममा अनजानमै भावनामा चोट पुगेको उल्लेख छ।
विज्ञप्तिमा गीतमा प्रयोग भएको भद्दा शब्दलाई मनोरञ्जनको उद्देश्यले फिल्मको प्रचारका लागि निर्माण गरिएको तर्क गरिएको छ। प्रियङ्काले सामाजिक सञ्जालमा लेख्दै सो गीत फिल्ममा समावेश गीत नभई फिल्मको प्रचारका लागि बनाइएको उल्लेख गरेकी छिन्।
साउन १, २०८३ शुक्रबार २३:१३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।