लफडामा प्रियंका : ‘मास्टर्नी’को गीतमा प्रतिबन्ध लगाउन शिक्षक महासंघको अल्टिमेटम!

लफडामा प्रियंका : ‘मास्टर्नी’को गीतमा प्रतिबन्ध लगाउन शिक्षक महासंघको अल्टिमेटम!

काठमाडौं : नेपाली चलचित्र वृत्तमा विवादमा परिरहने अभिनेत्री प्रियंका कार्कीलाई कसैको आलोचनाले खासै छुँदैन। उनी आफ्नो आलोचनालाई सजिलै पचाउन र ‘इग्नोर’ गर्न माहिर छिन्। तर, यसपालि भने उनी निकै ठूलो भुमरीमा फसेकी छिन्।

प्रियंकाले निर्माण र अभिनय गरेको आगामी चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘म्याथ सिक्ने भए...’ रिलिज भएकै दिनदेखि विवादमा तानिएको थियो। सुरुमा त निर्माण टोलीले यसलाई ‘हल्का’ रूपमा लिँदै आलोचनालाई अटेर गरिरहेको थियो।

तर, आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई लिएर अहिले चौतर्फी आक्रोश र प्रतिबन्धको माग उठ्न थालेको छ।

शिक्षिकाहरूको मानमर्दन र अपमान गरेको भन्दै सर्वसाधारण र चलचित्रकर्मीले त आलोचना गरेकै थिए, अब यसमा ‘नेपाल शिक्षक महासंघ’ पनि औपचारिक रूपमा आक्रोशित हुँदै मैदानमा उत्रिएको छ।

शिक्षक महासंघको चेतावनी- ‘परिणाम राम्रो हुने छैन’
मंगलबार रिलिज भएको यो गीतलाई तुरून्त बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न माग गर्दै नेपाल शिक्षक महासंघले शुक्रबार विज्ञप्ति जारी गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको नेपाली चलचित्र मास्टर्नीको भर्खरै सार्वजनिक गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ। उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।’

यति मात्र होइन, महासंघले प्रियंका एन्ड कम्पनीलाई चेतावनी दिँदै अगाडि लेखेको छ, ‘त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने कुरामा सचेत गराउँछौँ।’

प्रियंकाको बचाउ र दुर्गेशको ‘म्याथ’ दर्शन!
यता, चौतर्फी घेराबन्दीमा परेको निर्माण टिम भने यो गीत केवल मनोरञ्जनका लागि मात्रै निकालिएको दाबी गरिरहेको छ। अभिनेत्री प्रियंका कार्कीका अनुसार यो गीत फिल्मको मूल कथामा समावेश छैन, केवल प्रमोसनको लागि मात्र बनाइएको हो।

गीत रिलिज कार्यक्रममा यसका सर्जक दुर्गेश थापाले त झनै रमाइलो प्रष्टीकरण दिए। उनले गीतमा गणितभन्दा मजा नआउने भएकाले अलि मसला थप्नका लागि म्याथ शब्द राखिएको भन्दै आफ्नो सिर्जनाको बचाउ गरे।

आर्यनको अप्ठ्यारोपन र भाइरल भिडियो
दुईअर्थी शब्दहरूको ओइरो लागेको यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा नायक आर्यन सिग्देलले त गीतका शब्दहरू सोझै गाउनसमेत निकै अप्ठ्यारो माने।

आर्यनले अक्कमक्क पर्दै गाउन नसकेपछि छेउमै रहेकी प्रियंका र गायक दुर्गेश थापाले जोसका साथ गाएर सुनाएका थिए। प्रियंका र दुर्गेशको यो हर्कत र आर्यनको अनुहारको त्यो असहज भावका भिडियो क्लिपहरु यतिबेला टिकटक र फेसबुकमा निकै भाइरल भइरहेका छन्।

दुर्गेश थापा र बबिना किराँतीको स्वर रहेको यस गीतको भिडियोमा प्रियंकाका श्रीमान् आयुष्मान देशराज जोशी र चकलेटी हिरो आर्यन सिग्देल पनि दुर्गेशसँगै कम्मर मर्काउँदै नाचेका छन्।

चौतर्फी विरोध र महासंघको यो विज्ञप्तिपछि आलोचनालाई बाल नदिने प्रियंकाले गीत युट्युबबाट हटाउँछिन् कि आफ्नो अटेरीपनलाई नै निरन्तरता दिन्छिन्? त्यो भने हेर्न बाँकी नै छ।

साउन १, २०८३ शुक्रबार १२:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।