हलमा ‘गौँथली’
काठमाडौं : निर्देशक डा. कपिल रिजालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘गौँथली’ आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ।
वरिष्ठ चिकित्सक तथा फिल्मकर्मी डा. भोला रिजालले झन्डै २५ वर्षअघि तयार पारेको गीतिकथानकलाई यसपटक संवादसहित नयाँ स्वरूपमा निर्माण गरिएको हो। फिल्ममा सिम्रन खड्का र अरुण क्षेत्री मुख्य भूमिकामा छन्।
फिल्मले ग्रामीण भेगकी एक युवतीको शिक्षाप्रतिको चाहना र विवाहपछिको संघर्षलाई देखाएको छ।
फिल्ममा अभिनेता अरुण क्षेत्रीले ‘माइल्ड अटिजम’ भएको युवकको भूमिका निर्वाह गरेका छन्। शिक्षाको महत्त्व र विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिको जीवनलाई फिल्मको मुख्य विषय बनाइएको छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली लगायतका कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित यस फिल्मको पटकथा डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका हुन्।
यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभरका २ सयभन्दा बढी 'शो' मार्फत वितरण गरेका छन्।
साउन १, २०८३ शुक्रबार १०:२१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।