‘म मदनकृष्ण’को डिजिटल राइट्स कीर्तिमानी मूल्यमा बिक्री भएको निर्देशकको दाबी
काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको दाबी गरिएको छ।
डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले मदनकृष्णको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै मोटो रकममा सिनेमाको अधिकार खरिद गरेको फिल्मका निर्देशकको दाबी छ। यद्यपि रकम भने खुलाइएको छैन।
मिलन चाम्सको निर्देशन रहने यस चलचित्रको छायांकन भदौ दोस्रो सातादेखि सुरू हुनेछ। निर्देशक चाम्सका अनुसार यो नेपाली सिनेमा इतिहासमै अहिलेसम्मको महँगो डिजिटल डिल हो।
फिल्मले मदनकृष्णको बाल्यकाल, सरकारी जागिर, रङ्गमञ्चीय संघर्ष, हरिवंश आचार्यसँगको सहकार्य र अन्तरजातीय विवाहसहित उनको जीवनका सुख-दुःखलाई पर्दामा उतार्नेछ।
चलचित्रमा मदनकृष्णको भूमिकामा अभिनेता महेश त्रिपाठी र उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछन्।
‘मह’ जोडीका अर्का खम्बा हरिवंश आचार्यको भूमिका कसले निभाउने भन्ने विषयलाई भने निर्माण पक्षले हाललाई गोप्य राखेको छ। फिल्ममा राजाराम पौडेल, किरण केसी, यमन श्रेष्ठ, र देशभक्त खनाल लगायतको पनि अभिनय रहनेछ।
नेपाली रङ्गमञ्च र सिनेमाका जीवित हस्तीमाथि बन्न लागेको यो पहिलो बायोपिकलाई ऐतिहासिक पाइला मानिएको छ।
राजकुमार श्रेष्ठ निर्माता रहेको यस चलचित्रको कथा यम थापाले लेखेका हुन्। फिल्मको वितरण रिच, एप्पल र एफ.डी. कम्पनीले गर्नेछन्।
साउन १, २०८३ शुक्रबार ०९:३९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।