मेसी भर्सेस यमाल : १९ वर्षअघि काखमा बोकेको बच्चासँग मेस्सी विश्वकप उपाधिका लागि भिड्दै
एजेन्सी : फुटबल इतिहासका दुई फरक पुस्ताका असाधारण खेलाडी ३९ वर्षीय भेट्रान स्टार लियोनेल मेस्सी र १९ वर्षीय युवा स्टार लामिन यमाल पहिलो पटक मैदानमा आमनेसामने हुँदैछन्।
संयोग पनि कस्तो भने, यी दुई खेलाडीले अहिलेसम्म एकअर्काविरुद्ध व्यावसायिक फुटबल खेलेका छैनन्। आइतबार हुने विश्वकप फाइनलमा नै उनीहरूको मैदानमा पहिलो व्यावसायिक भेट हुनेछ।
साबिक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा इङ्गल्याण्डलाई २-१ ले हराउँदै र युरोपेली च्याम्पियन स्पेनले फ्रान्सलाई २-० ले पाखा लगाउँदै विश्वकपको फाइनलमा पुगेका हुन्।
यो फाइनल खेल मैदानमा उनीहरू पहिलोपटक आमनेसामने हुने भएपनि, यी दुईको सम्बन्ध झन्डै दुई दशक पुरानो छ। सन् २००७ को अन्त्यतिर, युनिसेफ र कातालान अखबार 'डियारियो स्पोर्ट' ले एउटा परोपकारी क्यालेन्डरका लागि चिट्ठा आयोजना गरेका थिए। सो चिट्ठा जित्ने स्थानीय परिवारले बार्सिलोनाका खेलाडीसँग क्याम्प नोउ रंगशालाभित्र तस्बिर खिचाउने मौका पाउने व्यवस्था थियो।
त्यस बेला स्पेनको मातारोमा बस्ने यमालको परिवारले उक्त चिट्ठा जित्यो। यमालकी आमा सिला एबानाले आफ्ना ५ महिनाका छोरा लामिन यमाललाई रंगशालामा लिएर गइन्। त्यहाँ यमालको तस्बिर खिच्नका लागि बार्सिलोनाका तत्कालीन २० वर्षीय उदाउँदा स्टार लियोनल मेसीलाई छानिएको थियो।
त्यस बेला उक्त फोटोसेसन गर्ने फोटोग्राफर जोआन मोनफोर्टका अनुसार, मेसी स्वभावैले निकै लजालु र अन्तर्मुखी थिए। जब मेसी चेन्जिङ रुममा पसे र त्यहाँ प्लास्टिकको बाथटबमा एउटा सानो बच्चा (यमाल) लाई देखे, सुरुमा उनी निकै अप्ठ्यारोमा परेका थिए र बच्चालाई कसरी समात्ने भन्नेमा अलमलिएका थिए। पछि मेसीले हाँस्दै उक्त बच्चालाई नुहाइदिइरहेको र काखमा लिएको तस्बिर खिचिएको थियो।

यो तस्बिर लामो समयसम्म गुमनाम नै थियो। तर, सन् २०२४ को युरो कपमा जब १६ वर्षीय यमालले स्पेनका लागि उत्कृष्ट प्रदर्शन गर्दै तहल्का मच्चाए, तब उनका बुबाले इन्स्टाग्राममा यो तस्बिर सेयर गर्दै लेखे— "दुई लिजेन्डहरूको सुरुवात।"
सुरुमा धेरै प्रशंसकहरूले यो तस्बिरलाई आर्टिफिसियल इन्टेलिजेन्सद्वारा बनाइएको सोचेका थिए, तर पछि समाचार एजेन्सी एपीले यसको आधिकारिकता पुष्टि गर्यो।
त्यसको झन्डै २० वर्षपछि, तस्बिरको त्यो सानो बच्चा र फुटबलका महानायक मेस्सी दुवै विश्वकप उपाधिका लागि भिड्दै छन्।
बार्सिलोनाको चर्चित 'ला मासिया' एकेडेमीबाटै अघि बढेका दुवै खेलाडीमा एकअर्काप्रति उच्च सम्मान छ। केही समयअघि मेस्सीले नयाँ पुस्तामध्ये यमाललाई उत्कृष्ट खेलाडी भन्दै उनको भविष्य उज्ज्वल रहेको बताएका थिए भने यमालले पनि मेस्सीलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडीका रुपमा चित्रण गर्ने गरेका छन्।
यमाल हालै पेलेपछि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् भने मेस्सीले पनि यमालको प्रशंसा गर्दै उनी वर्तमान समयका उत्कृष्ट खेलाडी भएको बताएका छन्। फ्रान्सविरुद्धको सेमिफाइनल जितेपछि यमालले पुरानो तस्बिर सम्झिँदै मेसीसँग फाइनलमा भिड्ने इच्छा व्यक्त गरेका थिए।
जारी विश्वकपमा मेस्सी ८ गोलसहित शीर्ष गोलकर्ताको दौडमा छन् भने यमालले पनि स्पेनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
मेस्सी आफ्नो खेल जीवनको अन्तिमतिर दोस्रो लगातार विश्वकप जितेर इतिहास रच्न चाहन्छन् भने यमाल विश्वविजेता बन्ने दाउमा छन्।
१९ वर्षअघि क्याम्प नोउको चेन्जिङ रुममा प्लास्टिकको बाथटब र खेलौना हाँससँगै सुरु भएको यो सम्बन्ध अब विश्वकपको उपाधिका लागि मैदानमा एउटा ऐतिहासिक प्रतिस्पर्धामा परिणत हुँदैछ।
असार ३२, २०८३ बिहीबार १७:४७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।