द्विअर्थी शब्द र साउथको नक्कलले फितलो बन्यो ‘मास्टर्नी’को गीत

द्विअर्थी शब्द र साउथको नक्कलले फितलो बन्यो ‘मास्टर्नी’को गीत

काठमाडौं : समाजमा ‘गुरुआमा’ (मास्टर्नी) शब्दले एउटा मर्यादित र आदरणीय व्यक्तित्वको छवि निर्माण गर्छ। तर, यही पात्रलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म मास्टर्नीको प्रमोसन गीतमा प्रयोग गरिएको द्विअर्थी भाव र प्रस्तुतिमा गुरुआमाले बोक्ने मर्यादालाई ख्याल गरिएको देखिँदैन।

दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा प्रयोग गरिएका ‘म्याथ सिक्ने भए, सबलाई जित्ने भए ट्युसन पढाई दिन्छु, बेलुका घरमा आए, दायाँबायाँ नभए’ जस्ता द्विअर्थी लाग्न सक्ने हरफहरू र नृत्यको हाउभाउले शिक्षिकाको पेसागत संवेदनशीलतामाथि आँच पुर्याउने ढंगले प्रस्तुत गरेको देखिन्छ।

गीतमा प्रयोग भएका शब्द र नृत्यले शिक्षिका र विद्यार्थीबीच प्राज्ञिक सम्बन्धलाई अझ सम्मानजनक रूपमा प्रस्तुत गरिनुपर्ने थियो। तर, फिल्मको नामले बोक्ने गाम्भीर्य र गीतमा देखिएको प्रस्तुतिबीच तालमेल नमिलेको प्रष्ट छ। 

गीतको भाव, शब्द र दृश्य संयोजन व्यावसायिक मनोरञ्जनतर्फ मात्र केन्द्रित हुँदा शिक्षिकाको भूमिकामा हुनुपर्ने शालीनता ख्याल गरिएको छैन। गीतको प्रस्तुति दक्षिण भारतीय फिल्म ‘सिठ्ठीमार’को शैलीसँग निकै प्रभावित देखिन्छ। अभिनेता अल्लु अर्जुनको कुर्सीमा बसेको हाउभाउलाई आयुष्मान देशराज जोशीले नक्कल गर्न खोजेको आभास हुन्छ।

यसअघि फिल्म घोषणाका बखत प्रियंकाले ‘ब्लकबस्टर’ फिल्म भनेर प्रचार गरिएको मास्टर्नीको यस गीतमा भने उक्त शब्द प्रयोग गरिएको छैन। गीतमा दुर्गेश थापालाई किराँतीले साथ दिएकी छन्।

भदौ १२ गते प्रदर्शनमा आउने भनिएको यो फिल्म बहुप्रतिक्षित कन्नड फिल्म ‘टक्सिक’को हाउगुजीले ठूला भनिएका फिल्मको प्रभावमा नराखिएको प्रियंकाले स्पष्ट पारेकी छन्। मंगलबार आफ्नै फिल्मको प्रमोसन गीत रिलिजका क्रममा तपाई आफ्नो फिल्मको रिलिज बहुप्रतिक्षित कन्नड फिल्म ‘टक्सिक’को डरले भागेको हो भन्ने प्रश्न पत्रकारले राखेका थिए। 

उनले आफूले कुनै फिल्मको प्रभावमा नभई अगाडी नै यो फिल्मको रिलिज फिक्स भदौ ५ गते राखिएको बताइन्। साथै हलवालासँगको छलफलपछि आफूले सहज पाटो अनुरूप भदौ ५ गतेलाई फिल्म रिलिज डेट तोकेको सुनाइन्। 

"हामीले अलरेडी फिल्मको प्रदर्शन मिति तोकिसकेका थियौं," उनले भनिन्, "क्युएफएक्ससँगको पार्टनर र उहाँहरूसँगको छलफलपछि प्रदर्शन भदौ ५मा राखेका हौं। कुनै फिल्मसँग डराएर अगाडी आएका हैनौं।" उनले भदौ १२ गते फिल्मको भिड भएका कारण पनि आफूले एक साता अगाडी फिल्म सार्नु परेको दाबी गरिन्। 

अहिले उक्त मितिमा दुई वटा मात्रै नेपाली फिल्म रहेका छन्। १७ दिनमा काठमाडौं र पोखरामा खिचेर सकिएको यो फिल्मलाई भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन्। यो फिल्मको प्रमोसन गीतमा भने उनी मंगलबार उपस्थित भएको देखिएनन्।  

‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको फिल्ममा प्रियंकासहित सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतले अभिनय गरेका छन्। साथै लगानी पनि फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको छ। 

असार ३०, २०८३ मंगलबार १९:१८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।