मिडिया र नेताका घरअघि गाडी तेर्स्याउने रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुन्छ: रवि लामिछाने

मिडिया र नेताका घरअघि गाडी तेर्स्याउने रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुन्छ: रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारगृहको गेट र राजनीतिक दलका नेताहरूको निवास अगाडि गाडी तेर्स्याएर अवरोध पुर्याउने कार्यमा आफ्नै दलका नेता-कार्यकर्ता संलग्न पाइए पनि कारबाही गर्ने बताएका छन्।

मङ्गलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटना अस्वाभाविक र शंकास्पद रहेको भन्दै त्यसमा रास्वपाकै नेता वा कार्यकर्ताको संलग्नता देखिए पनि पार्टीले नजोगाउने दाबी गरे।

यस घटनामा रास्वपाकै नेता तथा कार्यकर्ता परे भने कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा लामिछानेले भने, "किन हुँदैन? त्यस्तो पनि प्रश्न हो र? रास्वपा त्यो पार्टी हो जसले ७२ घन्टाभित्र सांसदलाई कारबाही गरेको थियो। रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ ? किन नहुनु, जो भए पनि हुन्छ।"

यसअघि सोमबार कान्तिपुर र अनलाइनखबर लगायतका मिडिया हाउस तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवास प्रवेश गर्ने गेटमा निजी नम्बर प्लेटका गाडीहरू तेर्स्याएर अवरोध सिर्जना गरिएको थियो। प्रहरीले ती सवारी साधन हटाएर जरिवाना समेत गराइसकेको छ।

रास्वपाले यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसअघि नै औपचारिक विज्ञप्ति जारी गरिसकेको छ। तत्कालका लागि प्रहरीले सामान्य जरिवाना गरेर छाडेको भए पनि घटनाको पृष्ठभूमि र उद्देश्यबारे अनुसन्धान हुनुपर्ने अडानमा पार्टी कायमै रहेको लामिछानेले प्रष्ट पारे।

असार ३०, २०८३ मंगलबार १७:३९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।