फिल्म ‘चिरञ्जीवी भवः’को निर्माण टिमविरुद्ध काजल कर्णले दिइन् कलाकार संघमा उजुरी
काठमाडौं : निर्माणाधीन फिल्म ‘चिरञ्जीवी भव:’को निर्माण टिम र कलाकार काजल कर्णबीचको लफडा चलचित्र कलाकार संघसम्म पुगेको छ।
विराटनगरमा रहेकी कलाकार कर्णले आफूलाई सुटिङ सेटमा गरिएको विभेदमा चुप लागेर नबस्ने भन्दै सामाजिक सञ्जालमार्फत संघमा उजुरी हालेको जानकारी दिएकी छन्।
उजुरी हालेपछि उनी भन्छिन्, "मैले चुप लागेर बस्न सक्ने अवस्था अब रहेन, किनभने यो कुरा केवल एउटा फिल्मको सेटमा भएको घटना मात्र होइन। यो मेरो अस्तित्व, मेरो पहिचान र मेरो आत्मसम्मानसँग जोडिएको विषय हो।"
उनले केही समाचारहरूले सत्यतथ्य नबुझीकन नै हल्लाको भरमा हेडलाइनको भोकमा यो विषयलाई गिजोल्ने काम गरिरहेको आरोप लगाएकी छन्।
"अहिले केही मिडिया र न्युज पोर्टलहरूले सत्य के हो भनेर नबुझी, केवल हल्ला र हेडलाइनको भोकमा यो विषयलाई गिजोल्ने काम गरिरहेका छन्," उनले थप लेखेकी छन्, "यसले मलाई मात्र होइन,मजस्तै संघर्ष गरिरहेका अरू धेरै कलाकारलाई पनि चोट पुर्याउँछ।"
उनले आफूलाई गरिएको दुर्व्यवहारसहितको प्रमाण संघका पेश गरेको उल्लेख गरेकी छन्। उनी थप्छिन्, "म सबै प्रमाणसहित मिडियामा आउनेछु। त्यो दिन सबैले सत्य के हो थाहा पाउनेछन्।"
उनले आफ्नो लडाइँ जातीयतामाथिको, आत्मसम्मानमाथिको र सत्यको रहेको उल्लेख गरेकी छन्। यस फिल्मको सुटिङ सेटबाट उनलाई एउटा भनेर अर्को पात्रमा अभिनय गराएको र मेकअपमेन लगायतले आफूलाई जातियताको रंगमा दुर्व्यवहार गरेको काजलको भनाई छ।
कलाकार संघका अध्यक्ष उत्तम केसीले कलाकार काजलको इमेल आइपुगेको जानकारी दिए। उनले उकेरासँगको कुराकानीमा इमेल प्राप्त भइसकेको र अब दुवै पक्षलाई बोलाएर छलफल गरिने बताए।
"काजलजीले आफूलाई फिल्मका निर्माण टिमले दुर्व्यवहार गरेको लगायतका विषयमा उजुरी इमेलमा पठाउनु भएको छ," उनले भने, "दुवै पक्षसँग वार्ताका लागि कुराकानी गरिसकेका छौं। निर्माण टिम र कलाकार नै पूर्व भएकाले चाँडै उहाँहरूलाई बोलाएर छलफलमार्फत यो कुराको टुङ्गो लगाउनेछौं।"
यता निर्माण टिमले आफूहरूले कुनै दुर्व्यवहार नगरेको र पारिश्रमिकको विषयमा ढिला भएको भन्दै आएको छ। साथै उनी सुटिङमा नआइदिँदा अर्को कलाकार राखेर सुटिङ गर्नु परेको यस फिल्मका निर्देशक दीपक आचार्यले स्वीकारेका छन्।
असार ३०, २०८३ मंगलबार १६:४४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।