हलबाट उत्रियो स्वस्तिमाको लालीबजार, रोल नं. १ दुई करोड नजिक पुग्दा जाँडको कमाइ कति ?

हलबाट उत्रियो स्वस्तिमाको लालीबजार, रोल नं. १ दुई करोड नजिक पुग्दा जाँडको कमाइ कति ?

काठमाडौं : नेपाली बक्स अफिसमा यो वर्षको हालसम्म सबैभन्दा धेरै कमाइ गर्ने स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’ हलबाट उत्रिएको छ। गत वैशाख २५ गतेबाट हलमा लागेको यो फिल्मले नौ करोड ३२ लाखको कमाई गरेको थियो।

तीन लाख १७ हजारभन्दा बढिले हेरेको लालीबजार अघिल्लो सातासम्म हलमा प्रदर्शनरत थियो। यम थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल सापकोटा, मुकुन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ।

त्यसैगरि, जितु नेपालको लगानी तथा अभिनय रहेको फिल्म ‘आइएम जित बहादुर’ पनि हलबाट उत्रिसकेको छ। गत असार ५ गतेबाट प्रदर्शनमा आएको थियो। जसमा जितुका अलावा वर्षा राउत, प्रियंका कार्कीको पनि अभिनय रहेको छ।

यता गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले भने हाल हलमा प्रदर्शनरत छ। हिजो आइतबारसम्म घरेलु बक्स अफिसमा फिल्मले एक करोड ७७ लाख रुपैयाँ ग्रस कमाइ गर्न सफल भएको छ।

सोमबार (आज) चलचित्र विकास बोर्डले सार्वजनिक गरेको प्रदर्शनरत फिल्मको कमाइमा यस फिल्मले दुई करोड नजिक कलेक्सन गरेको हो। गत हप्ता यता फिल्मले दुई लाख २० हजार रुपैयाँ थपेको हो। आइतबारसम्म ७० हजार ६७४ जना दर्शकले फिल्मलाई हेरेका छन्।

यता कुनै समयका चर्चित नेपाली फिल्मका अभिनेता रमेश उप्रेतीले अभिनय गरेको फिल्म ‘जाँड’को हेर्ने दर्शक भने निकै न्युन रहेका छन्। अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मलाई दुई हप्तासम्ममा ६२१ जनाले हेरेका छन्। 

उक्त दर्शकबाट यो फिल्मले बोर्डको बक्स अफिसमा एक लाख २६ हजार रुपैयाँ कलेक्सन गरेको छ। डेढ करोड भन्दामाथि लगानी गरेको भएता पनि यो फिल्मबाट निर्माताको हातमा कति पर्ला र खै ?

अहिले हलहरूमा नेपाली फिल्म ‘भागदौड’ पनि प्रदर्शनमा छ। यसै शुक्रबार (२६ असार)बाट प्रदर्शनमा आएकाले अर्को हप्ता मात्रै बक्स अफिस रिपोर्ट थाहा हुनेछ।

कुनमा को छ कलाकार? 

फिल्म ‘रोल नं १’लाई जोन योञ्जनले निर्देशन गरेका हुन्। विनोद पौडेल र जान्वी पौडेलले लगानी गरेको यो फिल्ममा मा मुकुन भुसाल, निर्भिक रेग्मी, सुशांक मैनाली, रेणुनाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतले अभिनय गरेका छन्।

असार १२ गतेबाट हलमा लागेको फिल्म ‘जाँड’लाई नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन्। राजेन्द्र भट्टको निर्माण रहेको यस फिल्ममा रमेश उप्रेतीका अलावा सान्बी खतिवडा, पदम गुरुङ, कमला दाहाल,मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसीको अभिनय छ।

फिल्मको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्तरूपमा तयार पारेका हुन् भने लगानी सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाहले गरेका छन्। 

असार २९, २०८३ सोमबार १५:०४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।