निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार
काठमाडौं : चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा वरिष्ठ चिकित्सक डा. वसन्त पन्तको टोलीले उनको शल्यक्रिया गरेको हो।
अभिनेता दीपकराज गिरीका अनुसार सफल शल्यक्रियापछि दीपाश्रीलाई अहिले आईसीयूबाट जनरल वार्डमा सारिएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत पछिल्लो एक साता आफ्ना लागि निकै कठिन र चुनौतीपूर्ण रहेको बताउनुभएको छ। फिल्म ‘छ माया छपक्कै २’ को सुटिङ भइरहेका बेला दीपाश्रीको स्वास्थ्यमा समस्या देखिएको थियो।
अस्पतालमा जाँच गर्दा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि सुरुमा उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो। तर, डा. वसन्त पन्तले नेपालमै सफल उपचार हुने भरोसा दिएपछि शल्यक्रिया अघि बढाइएको थियो।
शल्यक्रिया सफल भएपछि दीपकले लेखेका छन्, ‘भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। उहाँ अहिले जनरल वार्डमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ। उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई धन्यवाद।’
दीपाश्री हाल फिल्म ‘छ माया छपक्कै २’ को सुटिङमा व्यस्त थिइन्। उनी अभिनित नयाँ फिल्म ‘पार्वती’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउँदैछ। उनी नेपाली चलचित्र क्षेत्रको निकै सफल सिरिज ‘छक्का पञ्चा’ की निर्देशकसमेत हुन्।
असार २९, २०८३ सोमबार ०९:२७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।