रेखाको निर्देशनमा दिलको ‘हल्दी’, तीन सुन्दरीमध्ये दुलही को?
काठमाडौं : भदौ २६ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक गरिएको फिल्मको नयाँ पोस्टरमा फिल्मका मुख्य अभिनेता दिल श्रेष्ठको दुलहीलाई लिएर सस्पेन्स छ।
पोस्टरमा ‘दुलाहा’ बनेका दिल श्रेष्ठ हल्दी लगाएर मख्ख देखिन्छन्। छेउमा मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा बसेर छोराको खुसीमा रमाएका छन्। तर, असली कौतुहलता भने त्यहाँ उपस्थित तीन सुन्दरीहरूले बढाएका छन्।
नम्रता श्रेष्ठ हातमा बुकी फूल बोकेर बधाई दिने मुद्रामा उभिएकी छिन् भने उनको दायाँ-बायाँ नीति शाह र श्रृष्टि श्रेष्ठ छन्। यी तीन सुन्दरीमध्ये दिलको सिउँदो कसले भर्छ भन्ने कुरा फिल्मको ट्रेलर वा हलसम्मै पुगेर मात्र थाहा हुने देखिन्छ।
निर्देशक रेखा थापाले फिल्ममा श्रृष्टि, नम्रता, नीति र विशेष भूमिकामा उषा खड्गी रहेकी छन्। धनाढ्य परिवारको विवाह र त्यहाँभित्रको प्रेमको चक्करलाई फिल्मले कथा बनाएको बुझिन्छ।
‘हिम्मतवाली’ र ‘मालिका’ पछि अभिनेत्री रेखा थापा ८ वर्षको लामो अन्तरालमा निर्देशनमा फर्किएकी छिन्।
तर, रेखाका लागि यो कमब्याक फलामको चिउरा जस्तै हुने देखिएको छ। भदौ २६ गते रेखा एक्लै मैदानमा छैनन्, उनीसँग अरू तीन वटा फिल्म ‘पेन्सनपट्टा’, ‘बेहुली’ र ‘अक्षरा’ भिड्दै छन्।
पछिल्लो समय हलमा लागेको ‘दर्शकको खडेरी’ र चार-चार वटा फिल्मको भिडन्तले रेखाको ‘डायरेक्टरियल कमब्याक’लाई चुनौतीपूर्ण बनाएको छ।
के रेखाले ८ वर्षअघिको आफ्नो साख जोगाउन सक्लिन्? अथवा मिस नेपालहरूको ग्ल्यामरले फिल्मलाई वैतरणी तार्ला? यसको फैसला भदौ २६ पछि दर्शकले नै गर्नेछन्।
असार २९, २०८३ सोमबार ०९:२०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।