पशुपति र प्रभातको ‘बिग्रेको’ ग्याङमा ‘भटभटे माइला’को इन्ट्री
काठमाडौं : लोकदोहोरी गायक पशुपति शर्मा र कमेडियन प्रभात लामाको ‘बिग्रेको’ ग्याङमा अब नयाँ सदस्य थपिएका छन्।
फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’को तेस्रो ‘तीघ्रे’का रूपमा सामाजिक सञ्जालमा ‘गाह्रो छ हो’ भन्दै दर्शक हँसाउने बेगम नेपाली अर्थात् ‘भटभटे माइला’ अनुबन्धित भएका हुन्।
फिल्म तीन जना बिग्रिएका केटाहरूको कथामा आधारित छ। अब पर्दामा पशुपति, प्रभात र बेगमको त्रिकोणात्मक कमेडी हेर्न पाइने पक्का भएको छ।
निर्माता रघुनाथ सापकोटा र निर्देशक अमरदीप सापकोटाले यी तीन कलाकारको काँधमा फिल्मको मुख्य जिम्मेवारी सुम्पिएका छन्।
यस फिल्ममा अभिनेत्रीका रूपमा चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त देखिनेछिन्। एकातिर कमेडीका हस्तीहरू र अर्कोतिर नयाँ पुस्ताकी सुन्दरी, फिल्मको ‘कास्टिङ’ निकै रोचक देखिएको छ।
अभिनेता पशुपति शर्माले फिल्मका लागि गीतहरू समेत तयार पार्नेछन्। फिल्मको छायांकन यसै साताबाट सुरु हुँदैछ। गफ सुन्दा र कास्टिङ हेर्दा फिल्म निकै जोसिलो लाग्छ, तर एउटा पुरानो ‘गसिप’ले भने फिल्म क्षेत्रलाई शंकाको घेरामा राखेको छ।
रघुजी फिल्म्सकै ब्यानरमा ६ वर्षअघि निकै तामझामका साथ ‘चिलगाडी’ बनाउने घोषणा गरिएको थियो। अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेर सुरू भएको त्यो प्रोजेक्ट अहिलेसम्म ‘ग्राउन्डेड’नै छ।
अब प्रश्न उठ्छ, नाजिर हुसेनको चिलगाडी जस्तै यी ‘तीन तीघ्रे’ पनि गफमै सीमित हुने हुन् कि साच्चै हलसम्म आइपुग्ने हुन्? त्यो त समयले नै बताउला, तर तत्कालका लागि भने भटभटे माइलाको इन्ट्रीले फिल्ममा ‘कमेडीको डोज’ थपिने पक्का देखिएको छ।
असार २९, २०८३ सोमबार ०९:०७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।