सय दिनमै चर्को आलोचनामा घेरिएपछि पार्टी सभापति रवि भेट्न गए प्रधानमन्त्री बालेन
काठमाडौं : गणेश नेपालीको मृत्यु अनि होल्डिङ सेल्टरमा रहेका सुकुमबासीप्रति राज्यले गरेको अमानवीय व्यवहारका कारण सरकार र पार्टी दुवैको आलोचना बढेपछि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
सरकार गठन भएको सय दिन पार गरे लगत्तै सडकमा विरोध प्रदर्शन सुरु भएको र नेपालीको मृत्युको घटना र व्यवस्थापन गर्ने भन्दै बस्तीबाट उठाइएका सुकुमबासीप्रति राज्यले गरिरहेको व्यवहारले आम नागरिकमा असन्तुष्टि बढाइरहेको बेलामा शाह र रविबीच निजी निवासमा भेट भएको हो।
जानकारस्रोतका अनुसार पार्टी सभापति रविलाई भेट्न शाह आइतबार बिहान साढे ११ बजेतिर एक्लै लामिछानेको बुढानीलकण्ठमा रहेको घरमा पुगेका थिए। शाह त्यहाँबाट ३ बजेतिर निस्किएका थिए।
भेटमा दुई जना मात्र रहेकाले उनीहरुबीचको कुराकानीको विषय सार्वजनिक भएको छैन। चितवनमा पार्टीको पहिलो महाधिवेशनपछि पार्टीमा शाह र लामिछाने समूहको जन्म भएको थियो। सभापतिले मनोनयन गर्ने पदाधिकारीहरू समेत मनोनयन हुन सकेको छैन भने पार्टी सभापतिको निर्देशन नमाने संसदीय दलको नेता हटाउन सकिने प्रावधानसहितको विधान आइपछि बालेन समूहका नेताहरू असन्तुष्ट देखिएका थिए।
पछिल्लो समय संसदमा पार्टी संस्थापन पक्षमा रहेका सांसदहरूले सरकारको गतिविधिको आलोचना गर्नेक्रम बढिरहेको छ। सय दिनको समीक्षामा सरकारको शैली प्रभावकारी बन्न सकेन।
त्यसमा राइड सेयरिङको काम गरेर परिवार पाल्दै आएका युवाले महानगर प्रहरीको व्यवहारपछि आत्मदाहको प्रयास गर्दै उपचारकोक्रममा मृत्यु भएको घटनाले समाजमा सरकारको आलोचना बढिरहेको छ।
सुकुमबासीहरु सडकमा विरोध प्रदर्शनमा उत्रिरहेका छन्। होल्डिङ सेन्टर बाहिर पुगेका जेनजी अगुवाहरुमाथि प्रहरीले गरेको धरपकडको विरोधमा सरकार निरंकुश बन्दै गएको राजीनामा माग्ने क्रम समेत सुरु भएको अवस्थामा दुबैबीच भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
असार २८, २०८३ आइतबार २०:२१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।