छायांकनमै विवादित ‘काकु’को नयाँ फिल्म : अभिनेत्रीलाई ‘मधेशी’ भनेर हेपिएकोबारे के भन्छन् आरोपी?
काठमाडौं : मोरङमा छायांकन भइरहेको चलचित्र ‘चिरञ्जीवी भवः’ गम्भीर जातीय विभेद र अपमानको विवादमा तानिएको छ।
चलचित्रकी अभिनेत्री काजल कर्णले निर्माण पक्षले आफूलाई ‘मधेशी’ भएकै कारण क्रूर व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत पीडा सार्वजनिक गरेपछि नेपाली चलचित्र वृत्तमा नयाँ बहस सुरु भएको छ।
दीपक आचार्य (काकु)को निर्देशनमा बनिरहेको यस फिल्ममा हरिवंश आचार्य र करिश्मा मानन्धर जस्ता हस्तीहरूसँग काम गर्न पाउँदा सुरुमा उत्साहित देखिएकी काजलले सुटिङ सेटको अनुभवलाई ‘पृथ्वी र चन्द्रमा बीचको दूरी’ जस्तै विभेदकारी रहेको टिप्पणी गरेकी छन्।
काजलले फेसबुकमा लामो स्ट्याटस लेख्दै सुटिङको पहिलो दिनदेखि नै आफूले अपमान झेल्नुपरेको दाबी गरेकी छन्। उनका अनुसार, ड्रेस डिजाइनरले नाप लिएर पनि अन्तिम समयमा आफ्नै लुगा व्यवस्था गर्न भनेको, प्रोडक्सन म्यानेजर सुवास काफ्लेले गाडी नपठाएको र उल्टै रुखो व्यवहार गरेको उनको आरोप छ।
उनले उल्लेख गरेको सबैभन्दा गम्भीर विषय जातीय टिप्पणी हो। एक पुरुष मेकअप आर्टिस्टले ‘तिमी त तराईको मान्छे, तिमीलाई त भैँसी र गाईलाई कसरी बोलाउँछन् भन्ने थाहा होला नि!’ भन्दै मजाक उडाएको काजलको भनाइ छ।
साथै, मुख्य अभिनेत्रीका लागि मात्र मेकअप रुम सीमित गरिएको र आफूलाई कलाकारको रूपमा न्यूनतम सम्मान समेत नदिएको उनले गुनासो गरेकी छन्।
‘मैले जुन संसार देखेँ, त्यसले मेरो आत्मसम्मान र मधेसी पहिचानमाथि यति क्रूर प्रहार गर्यो कि आज म ती घाउहरू खोल्न बाध्य भएकी छु’, उनले लेखेकी छन्।
‘पेमेन्टमा ढिलाइ भएकै हो, तर विभेद गरेका छैनौँ’
यो विवाद सार्वजनिक भएपछि फिल्मका प्रोडक्सन म्यानेजर सुवास काफ्लेले भने आरोपको खण्डन गरेका छन्। उनले पारिश्रमिक पठाउन केही ढिलाइ भएको स्वीकार गरे पनि जातीय विभेद नगरेको दाबी गरे।
‘बुधबार फोन गरेर उहाँलाई हिजो बिहीबार सुटिङ सेटमा आउनका लागि कल गरेको थिएँ। उहाँले एकैचोटी मेरो पेमेन्ट आएको छैन भन्नुभयो। हामीले सबै कुरा मिलाइरहेका हुन्छौँ, पेमेन्ट गर्न ढिला भयो। उहाँ समयमा आउनु भएन। नभएपछि हामीले रिप्लेस गरेका हौँ।’
उनले पारिश्रमिक पठाइसकेको दाबी गर्दै थपे, ‘बिहान ७ बजे नै पठाउन खोजेको हो। तर ९ बजेसम्ममा मैले पेमेन्ट पठाइसकेको थिएँ। मसँग सबै प्रुफ छ।’
जातीय विभेदको आरोपबारे काफ्लेको तर्क छ, ‘मधेशी भनेर कसले हेप्छ र? उहाँले आफ्नो व्यक्तिगत रुपमा धारणा बनाउनुभएको हो। मधेशकै कलाकारहरूले काम गरिरहनु भएको छ। यसमा हामीले जातजातीका कुरा गरेका छैनौँ। अहिलेको समयमा पनि कसैले जातियाको कुरा गर्छ र कहीँ?’
हिरोइनलाई र अरुलाई मेकअपका लागि भनेर छुट्टा छुट्टै रुम नलिएको दाबी गर्दै उनले एउटै रुममा मेकअप, लाइटका सामान अन्य सामान अटाएको बताए।
‘हिरोइनलाई र अरुलाई मेकअप भनेर छुट्टै लिएका छैनौं। त्यसैमा मेकअप छ, लाइटका सामान छ, हरेक कुरा अटाइएको छ। कहाँ नेपालमा मेकअप स्टुडियो छुट्टै छ र?’, उनले थपे, ‘मैले यसमा काम गरेको २६ वर्ष भयो। अहिलेसम्म कसैलाई नराम्रो व्यवहार गरेका छैनौँ। जो कसैलाई सोध्दा पनि हुन्छ।’
त्यसैगरी फिल्मका निर्देशक दीपक आचार्य (काकु)ले भने सेटमा कुनै नराम्रो व्यवहार नभएको दाबी गरे।
उनले भने, ‘हामी त परिवार जस्तो भएर काम गरेका थियौँ। म कलाकार तथा प्राविधिकहरुलाई पनि नराम्रो व्यवहार गरेको छु जस्तो लाग्दैन। पेमेन्टको विषयमा म्यानेजमेन्ट हेर्छ।’
असार २७, २०८३ शनिबार ११:३९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।