गौँथलीका निर्देशकलाई प्रश्न : फिल्म चलाउन कतिको टिकट किन्दै हुनुहुन्छ ?

गौँथलीका निर्देशकलाई प्रश्न : फिल्म चलाउन कतिको टिकट किन्दै हुनुहुन्छ ?

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा निर्माताहरूले नै फिल्म प्रदर्शनका क्रममा आफैँले टिकट काटेर हाउसफुल देखाउने प्रवृत्ति मौलाएको छ। अनलाइन बुकिङमा हल भरिभराउ देखाए अन्य दर्शकहरू आकर्षित हुने भ्रममा पालेर निर्माताहरूले ठूलो रकम खर्चिरहेको देखिन्छ।

साउन १ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘गौँथली’ प्रदर्शनको क्रममा पनि निर्माण पक्षले ‘कर्पोरेट बुकिङ’ गर्ने योजनामा रहेको अड्कलबाजी भइरहेका छन्। शुक्रबार गौँथली टिमसँग सञ्चारकर्मीहरूले जिज्ञासा राखे- ‘यो फिल्म हलमा टिकाउनका लागि कतिको टिकट किन्ने सोचमा हुनुहुन्छ ?’

एक हप्ता अगाडिबाटै फिल्मको बुकिङ खुलिसकेको भन्दै निर्देशक कपिल रिजालले टिकट किन्ने डर लाग्दो कुरा  नगर्नुहोस् भनेर हँसाए।

"हाम्रो त हिजैदेखि बुकिङ सुरु भएको छ," टिकट किन्ने मनसायबारे उनी भन्छन्, "अब टिकट किनिदिन भन्न चाहिँ भन्दिनँ। किनभने मेरा आफन्तीहरु छ। एउटा बहिनीहरू छ। उहाँहरू फिल्म जान्छु, भन्छन्। अब त्यो हाम्रो फ्यामिलीले किनेको टिकट पनि मैले नै किनेको भनिन्छ कि के भनिन्छ, त्यो मलाई थाहा भएन।"

उनले टिकट किनेर फिल्म चल्ने भए अहिले हलमा लागेको फिल्महरू किन नचलेको भनेर उल्टै प्रश्न गरे।  "टिकट किनेर फिल्म एक दिन,दुई दिन चल्छ," उनले भने, "टिकट किनेर पनि त फिल्म चलेन नि? टिकट किनेर पनि फिल्म चलेन भन्ने थाहा पाउँदा पाउँदै म किन टिकट किन्छु। टिकट किनेपछि फिल्मले बोल्नै पर्छ क्या।"

२५ वर्षअघि निर्देशक रिजालकै बुबा डाक्टर भोला रिजालले निर्माण गरेको यो म्युजिकल फिल्म हिट भएको थियो। फिल्ममा भने छोराले निर्देशन तथा निर्माण गरेका हुन्। निर्देशक रिजालका अनुसार फिल्मको कथा सदाबहार रहेको र कहिल्यै पुरानो नभएको दाबी गरे। 

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सेना, रवीन्द्र झा, सितादेवी तिमल्सेना लगायतले अभिनय गरेका छन्। यस फिल्मको लगानीमा सुमन गिरीको पनि छ। यसअघि निर्देशक रिजालले ‘ह्यारी कि प्यारी’निर्देशन गरेका थिए। उक्त फिल्ममा जितु नेपाल र साम्राज्ञी आरएल शाहले अभिनय गरेका थिए। साथै यस फिल्मले व्यावसायिक रूपमा सफल पार्न भने सकेको थिएन। 
 

असार २६, २०८३ शुक्रबार १९:२४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।