‘तिरिमिरी झ्याइँ’मा सुमनको इन्ट्री : पात्रमा डुबेर काम गर्ने कि ‘दले दाइ’मै सीमित हुने?

‘तिरिमिरी झ्याइँ’मा सुमनको इन्ट्री : पात्रमा डुबेर काम गर्ने कि ‘दले दाइ’मै सीमित हुने?

काठमाडौं : नेपाली फिल्म मेकरहरूलाई एउटा अनौठो रोगले सताउने गर्छ- भाइरल अनुहारको मोह।

जब मेकरको आँखा सामाजिक सञ्जालको चर्चामा ठोकिन्छ तब, फिल्मको कथाले कस्तो पात्र मागेको छ वा सम्बन्धित व्यक्तिमा अभिनयको कति दम छ भन्ने कुरा गौण बनिदिन्छ।

चर्चाकै भरमा पैसाको खोलो बगाउने र फिल्म चल्छ भन्ने भ्रम पाल्ने प्रवृत्ति नेपाली सिने उद्योगमा पुरानै हो।

यसअघि टिकटक र युट्युबको चर्चाकै जगमा गरिमा शर्मा, इभा गिरी, र पारस बम ठकुरी जस्ता अनुहारहरूलाई मेकरले ‘आँखा चिम्लेर’ पर्दामा उतारे।

कोही अलिअलि टिके, कोही पानीमुनिको ओभानो झैँ बिलाए। अब यही लाइनमा थपिएका छन्- ‘कमेडी च्याम्पियन’बाट ‘दले दाइ’को छवि बनाएका सुमन कोइराला।

होराइजन मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्म ‘तिरिमिरी झ्याइँ’मा सुमन मुख्य भूमिकामा देखिने भएका छन्।

कमेडियनका रूपमा त सुमनले वाहवाही कमाएका हुन्, तर के सिङ्गो फिल्मको भारी आफ्नो काँधमा बोक्ने क्षमता उनमा होला त? यो समयले नै बताउला।

असार २९ गतेबाट फ्लोरमा जाने यो फिल्मको कन्सेप्ट आभास अधिकारीले तयार पारेका हुन् भने निर्देशन समीरले गर्दैछन्। फिल्म निर्माणको जिम्मा प्रद्युम्न बोगटीले लिएका छन्।

फिल्ममा धिरेन शाक्य, रियर राई, सरोज अर्याल, राज न्यौपाने र पछिल्लो समय सामाजिक सञ्जालमा ज्योतिषी भनेर भाइरल बनेका ज्योतिषी पुस्कर खतिवडासम्मको जम्बो टोली छ।

नेपाली दर्शकले टेलिभिजनका ‘लेजेन्ड’हरू जितु नेपाल, मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र शिवहरि पौडेललाई त फिल्मको पर्दामा खासै पत्याउन छाडिसकेका छन्।

यस्तोमा ‘दले दाइ’ बनेर आएका सुमनलाई दर्शकले नयाँ स्वाद मान्लान् कि ‘यिनलाई त टिभीमै हेरेको हो नि’ भनेर नाक खुम्च्याउलान्? त्यो त फिल्म रिलिजपछि नै थाहा होला।

सुमनजी, टेलिभिजनको छोटो प्रहसन र दुई घण्टाको फिल्ममा आकाश–जमिनको फरक हुन्छ।

पात्रमा नडुबी केवल भाइरल भएको ह्याङओभरमा मात्रै काम गर्नुभयो भने नाम त ‘तिरिमिरी झ्याइँ’ छँदैछ, कतै नतिजा पनि त्यस्तै नआओस्! पात्रमा डुबेर काम गर्ने कि ‘दले दाई’ मै सीमित हुने? अब बल तपाईकै कोर्टमा!

असार २६, २०८३ शुक्रबार १०:२५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।