प्रदर्शनअघि नै 'गौँथली'को हाइप, ट्रेलरलाई दर्शकको ओइरो
काठमाडौं : आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’ दर्शकमाझ प्रतिक्षित बन्दै गएको छ।
फिल्मको सार्वजनिक टिजर र ट्रेलरले बजारमा बलियो हाइप सिर्जना गरेसँगै यसप्रति दर्शकको चासो निकै बढेको हो।
चार दिनअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। हाल यो ट्रेलर नेपालको युट्युब ट्रेन्डिङ अन्तर्गत सिनेमा विधाको दोस्रो स्थानमा पर्न सफल भएको छ। टिजर र ट्रेलरले हाइप बढाउँदै गएकाले फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने संकेत देखाएको छ।
गौँथलीमा अटिजम भएको युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनको अपोजिटमा रहेकी सिम्रन खड्काको अभिनयको निकै तारिफ भइरहेको छ। यससँगै उनीहरूले प्रचारका क्रममा गरेको मेहनतलाई दर्शकले तारिफ गरिरहेका छन्।
अटिजम भएका युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपनाको प्रस्तुतिलाई दर्शकले मन पराइहेका छन्।
‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका हुन्। फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ।
फिल्मलाई हरि हुमागाईंले खिचेका छन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
गौँथलीलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्नेछन् भने यसको डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।
करिब दुई दशकअघि वरिष्ठ चिकित्सक डा. भोला रिजालले ‘गौँथली’ नाममै फिल्म निर्माण गरेका थिए। नेपालको पहिलो ‘गीति चलचित्र’ (म्युजिकल फिल्म) मानिने उक्त ऐतिहासिक फिल्मले प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको थियो। अहिले सोही नाम र विरासतलाई अघि बढाउँदै डा. भोला रिजालका छोरा डा. कपिल रिजालले नयाँ फिल्म ‘गौँथली’को निर्देशन गरेका हुन्।
असार २४, २०८३ बुधबार १५:०९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।