‘टक्सिक’को डरले दुई फिल्मले सुइँकुच्चा ठोक्दा नीता भन्छिन्- ‘म डराउन्न, पार्वती आउँछ!’

‘टक्सिक’को डरले दुई फिल्मले सुइँकुच्चा ठोक्दा नीता भन्छिन्- ‘म डराउन्न, पार्वती आउँछ!’

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा यतिबेला एउटै चर्चा छ- भदौ १२ गते को टिक्ने, को भाग्ने?

बहुप्रतिक्षित कन्नड फिल्म ‘टक्सिक’को हाउगुजीले ठूला भनिएका फिल्मको सातो खाइरहँदा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना भने सोही मितिमा फिल्म लगाउनेमा अहिलेसम्म अडिग छिन्।

कन्नड स्टारको ‘टक्सिक’ आउने भएपछि ‘मास्टर्नी’ र ‘बेहुली’ जस्ता फिल्मले सुइँकुच्चा ठोकिसके। तर, नीताले आफ्नो ड्रिम प्रोजेक्ट ‘पार्वती’ लाई सोही मितिमा उतार्ने घोषणा गरिन्।

फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा ‘पार्वती’ टिम यतिबेला डबिङ स्टुडियोमा व्यस्त छ। मंगलबार मात्रै फिल्मकी महत्वपूर्ण पात्र दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छिन्।

तर, सबैको नजर भने ‘भाइरल’ बालगायक अशोक दर्जीमाथि छ। निर्देशक नीताका अनुसार अशोकले बिहीबारदेखि माइक समात्दैछन्।

उकेरासँग गफिँदै नीताले भनिन्, ‘हामी अहिले डबिङको अन्तिम चरणमा छौँ। दीपा दिदी, म र अरु साथीहरूको काम भइरहेको छ। भोलिबाट अशोक दर्जीको डबिङ सुरू हुन्छ।’

‘टक्सिक’ सँग डराउने कि लड्ने?
बजारमा हल्ला थियो- विदेशी फिल्मको दबदबा भएपछि नीताले पनि खुट्टा कमाउनेछिन्। तर, उनले आँट देखाइन्।

उनले भनिन्, ‘हाम्रो फिल्म तोकिएकै समयमा आउँछ। १०० प्रतिशत दायाँबायाँ हुँदैन।’

नीता फिल्मकै ब्यानरमा यसअघि निकै तामझामका साथ ‘ह्रस्वदीर्घ’ बनेको थियो।

भारतीय र नेपाली कलाकारको जम्बो टोली भए पनि बक्स अफिसमा लगानीको तुलनामा फिल्म ‘फ्लप’ नै सावित भयो। त्यसैले पनि ‘पार्वती’ नीता र हरिहर अधिकारीका लागि साख जोगाउने परीक्षा बनेको छ।

हरिहर अधिकारीले निर्माण गरेको र शिवम अधिकारीले लेखेको यस फिल्ममा नीताका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राजेन्द्र नेपाली (लट्टे) लगायतको अभिनय छ।

भदौ १२ मा ‘पार्वती’ले अर्को नेपाली फिल्म ‘जदौ’ र विदेशी फिल्म ‘टक्सिक’ सँग कसरी भिडन्त गर्छ, त्यो भने हेर्न बाँकी छ।

असार २४, २०८३ बुधबार १३:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।