"म एक मिनेट प्रधानमन्त्री बने पनि देश बिग्रिहाल्छ, कलाकार हुँ, कलाकारै ठिक छ"

तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : रङ्गमञ्चबाट अभिनय यात्रा सुरु गरी नेपाली फिल्म क्षेत्रमा आफूलाई स्थापित गरेका अभिनेता हुन्- कामेश्वर चौरसिया। गुरुकुलमा नाटकबाट अभिनय शुरु गरेका उनी निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्म 'लुट'बाट ठूलो पर्दामा प्रवेश गरेका थिए। 

केमियो भूमिकाबाट अभिनय थालेका उनले १७ वर्षको अन्तरालमा ‘रेसम फिलिली’, यसको सिक्वेल  ‘अभिमन्यु च्याप्टर वान’ जस्ता दमदार अभिनय गरेका छन्। मस्त मौलाना स्वभावका उनै कलाकारसँग उकेराकर्मी भोला अधिकारीले गरेको संवाद :

पछिल्लो समय केमा व्यस्त व्यस्त हुनुहुन्छ?
आफैँमा व्यस्त छु, म हिजोआज।

आफैँमा भन्नाले?
आफैँमा व्यस्त छु (हाँस्दै)।

कुनै फिल्ममा व्यस्त हुनुहुन्छ कि भनेर सोधेको हो। ‘अभिमन्यू’ रिलिजपछि त्यति चर्चा छैन, त्यसैले?
मेरा केही फिल्महरू आउँदै छन्। कुनै सुटिङ चल्दै छ। कुनै हुन बाँकी छ।

अभिमन्युमा तपाईंको बुलन्द अभिनय थियो। त्यसपछि तपाईंलाई कत्तिको व्यस्त बनायो? 
‘अभिमन्यु’ पछिको व्यस्तता मेरो पहिला जस्तो थियो, त्यस्तै छ। पहिला म व्यस्त हुन्थेँ, त्यसपछिको व्यस्तता पनि त्यस्तै छ। फरक छैन।

तपाईंलाई अभिमन्युपछि धेरैले हिरोको रूपमा हेरे। आफूलाई हिरो भन्दिँदा चाहिँ कस्तो लाग्दो रहेछ?
मलाई त केही लागेन। पहिला मेरो केमियो गर्दाखेरि जुन मलाई लाग्थ्यो। हिरो भएर काम गर्दा पनि त्यस्तै लाग्यो। फरक केही लागेको छैन। 

तपाईंको पहिलो फिल्म ‘लुट’ सुपरहिट भयो। त्यसले फिल्म निर्माणको ट्रेण्ड नै चेन्ज गर्यो। तपाईंको लागि चाहिँ यसले के चेन्ज गर्यो ?
जस्तो त्यो फिल्मबाट दया, निश्चल, सौगात लगायत सबै चम्किए। म पनि त्यसैबाट चम्केको। यही हो चेन्ज।

उनीहरूको तुलनामा तपाईं अलिक ओझेलमा परेको जस्तो लाग्दैन?
यसरी भन्न मिल्दैन। मैले जे जतिको काम नाम दाम पाएको छु। पहिचानसहित स्थापित गरेको छु। म पनि चलेको त्यहीँबाट हो। 

नाटकमा काम गरिरहेकालाई त्यतिबेला फिल्ममा अवसर पाउनु ठूलो कुरा थियो होला है?
नाटकमा काम गर्नेहरूलाई फिल्म खेल्न पाउनु अहिले पनि ठूलै कुरो हो। फिल्म बन्नु पर्यो, सबैलाई अटाउने फिल्म बन्नु पर्यो।

पछिल्लो समयको नेपाली फिल्मको अवस्थालाई कसरी नियाल्नुभएको छ?
एकदम राम्रो। अहिले फिल्म इन्डस्ट्रीको अवस्था धेरै राम्रो छ। सब फिल्म तपाईंको करोड प्लसको बिजनेसमा छ। केहीले १० करोडभन्दा माथिको व्यापार गरिरहेका छन्। यो सुखान्त हो। यत्रो वर्षको मान्छेहरूको सिप, योगदान अहिले आएर राम्रो बजार भइराखेको छ।

अभिनयमै निरन्तर रहँदा कस्तो अनुभव रह्यो?
म त पुरा आनन्दित छु। किनभने मैले यतिको काम गर्न पाएँ। तपाईंले यहाँसम्म यो टेबलसम्म ल्याएर सम्मान दिइराख्नुभएको छ। यदि त्यस्तो नभएको भए यो (अन्तरवार्ता) हुनेवाला थिएन।

खस्कँदो बजार र राम्रा फिल्मसमेत असफल हुने स्थितिलाई सुधार्न फिल्मकर्मीले के गर्नुपर्छ जस्तो लाग्छ?
मलाई त्यस्तो केही लाग्दैन। अब यहाँ म आफैँ सुध्रिएँ भने पनि ठिक छ। मेरो ठिक छ, म सुध्रिएँ भने सब सुध्रिन्छ।

अब केही फरक प्रसंगमा कुरा गरौं। यदि तपाईंलाई प्रधानमन्त्री बनाइयो भने पहिलो के काम गर्नुहुन्थ्यो?
मलाई एउटा घटना याद आयो। जब हामी १५-१६ वर्षको युवा थियौं, त्यतिबेला पार्टीका नेताहरू आफ्नो-आफ्नो पार्टी कार्यकर्ता बढाउने चक्करमा गाउँ-गाउँमा भिजिट गर्नुहुन्थ्यो। यस्तो राजनीतिक विषयमा कुरा गर्नुहुन्थ्यो। 

हाम्रो छिमेकमा एक जना बुढो बुढो हजाम हुनुहुन्थ्यो। एक आमसभाको भाषणमा उहाँ पनि जानुहुन्थ्यो। हामी पनि जान्थ्यौं। पार्टीको सदस्यतामा उहाँको पनि नाम राखियो। हामीले त्यो बेलामा उहाँलाई यही प्रश्न गरेका थियौं। तपाईंलाई प्रधानमन्त्री बनाइदियो भने के गर्नुहुन्छ ? उहाँले भन्नुभएको थियो, म सबभन्दा पहिले कलैया चोकमा एक कट्ठा जमिन किन्छु, (हाँस्दै)।

त्यसपछि सैलुन खोल्छु र आफ्नो नाति पोतालाई दिन्छु। किन ? भन्दाखेरि, म त हजाम हो। मलाई प्रधानमन्त्री बनायो भने देश चल्दैन, दुई दिनमा निकालेर फाल्दिन्छ। त्यसैले म कलाकार हुँ, म प्रधानमन्त्री बन्न सक्दिनँ। फिल्ममा बरु बन्न सक्छु, साँच्चिकै प्रधानमन्त्री बन्न सक्दिनँ। नत्र देशै बिग्रिहाल्छ।

एकै दिन मात्र बन्नुभयो भने पनि?
एक मिनेट बन्यो भने पनि देश बिग्रिहाल्छ।

विश्वकप चलिराखेको छ, कत्तिको हेर्नुहुन्छ? 
हाइलाइटहरू हेर्छु।

तपाईंको त्यति रुचि छैन?
हैन, बहुत रुचि छ मलाई। तर समय छैन।

अहिलेसम्म मन परेको टिम?
म त्यस्तो फुटबलको फ्यान हैन। मन परेको टिमभन्दा नि मन परेको खेलाडी- हेरेर, फोटो हेरेर, त्यो औकात हेरेर, हैसियत हेरेर, स्टामिना हेरेर हुन्छ नि! एउटा त्यो ढिट जुन छ, त्यो हेरेर नाम चलेकाहरूमा मेसी, रोनाल्डो, पेले लेजेन्ड्री हुनुहुन्थ्यो। उहाँलाई म पनि मान्न तयार छु।

यदि कलाकारको हैसियतमा खेलाडीहरूलाई सुझाव दिनु पर्यो भने के दिनुहुन्छ होला?
खाओ, पिओ, मस्त रहो भाइ। सास लेऊ राम्रोसँग, सास फेर, लामो आयु बाँच, खुब प्रगति गर। इमानदारीले खेल।

अन्त्यमा हाम्रा दर्शकहरूलाई केही भन्दिनुहुन्छ कि ? आफ्नो फिल्मका बारेमा? 
मेरो फिल्महरू अब थोरै समयको अन्तरालपछि रिलिज हुँदै छ। दुई-तीन वटा फिल्महरू छ। आउँदै छ, त्यसपछि अब त्यो बिस्तारै-बिस्तारै त्यसको नाम पनि एनाउन्स हुन्छ। तपाईंहरूले थाहा पाइहाल्नुहुनेछ। फिल्मको मजा चाहिँ फिल्म हेरेर नै हुने भएकाले हेर्नुस् है। यति भन्न चाहन्छु। 
 

असार २४, २०८३ बुधबार २०:१२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।