कन्नड फिल्म 'टक्सिक'को डरले भदौ १२ का नेपाली फिल्ममा मच्चियो भागदौड
काठमाडौं : बहुप्रतिक्षित कन्नड फिल्म ‘टक्सिक’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएसँगै भदौ १२ गतेका लागि प्रदर्शन मिति तय गरेका नेपाली फिल्महरू तितरबितर हुन थालेका छन्। चर्चामा रहेको फिल्म टक्सिकसँग हलमा टक्राउँदा घाटा बेहोर्नुपर्ने आंकलनसहित नेपाली फिल्महरूको भागदौड मच्चिएको देखिन्छ।
ब्लकबस्टर ट्याग भिराएर फिल्म ‘मास्टर्नी’को घोषणा गरेकी प्रियंका कार्कीले भदौ १२ मिति छाडेर एक साता अगाडि ५ गतेमा आइपुगेकी छन्। सोही समयमा रिलिज गर्ने भनिएको टिकटकर पारस बम ठकुरी (कुलव्बाय) अभिनीत ‘बेहुली’ १४ दिन पर सर्दै २६ गते रिलिज हुँदैछ।
सशांक कँडेलको निर्देशनमा निर्माण भएको ‘बेहुली’ कन्नड फिल्म ‘टक्सिस’को डरले पछि हेट्यो। सोमबार मण्डला थिएटरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पोस्टर रिलिज गर्दै प्रदर्शन मिति सारिएको बारेमा जानकारी दिइयो। निर्देशक कँडेलले टक्सिस प्रदर्शनमा आउने भएपछि आफ्नो फिल्म सार्नु परेको घुमाउरो पारामा स्वीकार गरे।
सोही दिनबाट प्रदर्शनमा आउने घोषणा भएकोमध्ये ‘ग्रेड’रिलिज नहुने भएपछि नेपाली फिल्म ‘पार्वती’, ‘जदौ’ मात्रै रिलिज हुनेछन्। अहिलेसम्म यी फिल्मको निर्माण टिमले प्रदर्शन मिति सारेका छैनन्। समाचार तयार पार्दासम्म प्रदर्शन मिति यथावत् रहेका यी फिल्मको मिति सार्ने विषयमा कुनै चर्चा भएको समेत सुनिएको छैन।
भदौ १९ मा पनि चार फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन्। ‘बा एक योद्धा’, ‘ककाकिकी’, ‘स्टेसन’का साथमा ‘चंगुल’ थपिएको छ। यो फिल्ममा निर्माण टिमले सोमबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्यो।
भदौ २६मा थुप्रिए पाँच फिल्म
बेहुलीले आफ्नो प्रदर्शन भदौ २६ लगेपछि हलमा एकसाथ ५ वटा फिल्म हलमा लाग्ने कमफम भएका छन्। उक्त समयमा अभिनेत्री रेखा थापा निर्देशित फिल्म ‘माया भनेको यस्तो होला’, विनयराज पौडेल निर्देशित ‘अक्षरा’, माओत्से गुरुङ निर्देशित, ‘पेन्सन पट्टा’का साथमा घोषणा भएकै फिल्म जोड्ने हो भने ‘टीका’रहेको छ।
शंकर कार्कीले निर्देशन गरेको यो फिल्ममा वर्षा सिवाकोटी र महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ। तर अहिलेसम्म टिकाको कुरा फिल्म निर्माणको समयमा मात्रै रिलिज घोषणा भएकाले थप चर्चा छैन।
फिल्म पनि प्रदर्शनमा आउने हो भने भदौ २६ गते पाँच वटा फरक फरक जनराका फिल्मले दर्शक हलमा बटुल्ने छ। रेखाले गत फागुनको शिवरात्रिको दिन नै फिल्म ‘माया भनेको यस्तो होला’घोषणा गर्दा भदौ २६ गतेलाई रिलिज डेट तोकेकी थिइन्।
अब भने त्यो समयमा कुनैले रिलिज डेट नलिएका उक्त फिल्म एकल प्रदर्शन हुने निर्माण पक्षको अपेक्षा थियो। तर समय अनुसार फिल्मको छायांकन सकिँदै गर्दा चार वटा फिल्मसँग प्रतिष्पर्दा गर्नुपर्ने रेखालाई चुनौती थपिएको छ।
असार २३, २०८३ मंगलबार १५:५१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।