‘अक्षरा’को पोस्टरमा सुशील र न्यान्सीको खटपट !

‘अक्षरा’को पोस्टरमा सुशील र न्यान्सीको खटपट !

काठमाडौं : आगामी भदौ २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘अक्षरा’ को दोस्रो आधिकारिक पोस्टर सोमबार सार्वजनिक गरिएको छ।

यस चलचित्रका निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर निर्माण पक्षले प्रचारप्रसारलाई अघि बढाउने उद्देश्यले नयाँ पोस्टर सार्वजनिक गरेको हो।

नयाँ पोस्टरमा चलचित्रका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ। तर, पोस्टरमा दुवै कलाकार विपरीत दिशातिर फर्केर गम्भीर मुद्रामा देखिएका छन्।

उनीहरूको अनुहारको भावले प्रेमी-प्रेमिकाबीचको सम्बन्धमा आएको खटपट, रिस, असमझदारी वा बिछोडको मर्मलाई व्यक्त गरेको देखिन्छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई विनय राज पौडेलले निर्देशन गरेका हुन्।

सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको यस चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्।

झण्डै डेढ महिना लगाएर खिचिएको यस चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

चलचित्रमा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ।

बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्। दीपेन बस्न्यातको छायाङ्कन र रामजी लामिछानेको कोरियोग्राफी रहेको यस चलचित्रलाई दीपक दङ्गालले वितरण गर्दैछन्।

असार २३, २०८३ मंगलबार ११:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।